पाल्पाका जीवलाल जेटिएको जागिर छाडेर कुरिलो खेतीमा

पाल्पाका जीवलाल घिमिरेलाई लकडाउनको समय कुरिलो टिप्दै बेच्ने गर्दैमा ठीक्क
रासस
    २८ बैशाख २०७७, आईतवार १३:२९  मा प्रकाशित
154 जनाले पढ़िसके

प्रतिक्रिया




    रामपुर । व्यावसायिक रुपमा कुरिलो खेती गरेका पाल्पाका जीवलाल घिमिरेलाई लकडाउनको समय कुरिलो टिप्दै बेच्ने गर्दैमा ठीक्क छ ।

    उनी एक दिन बिराएर १५ किलोसम्म कुरिलो टिपेर बेच्ने गर्छन् । ‘लकडाउन भएपछि घरमै कुरिलो खरीद गर्न धेरै आउँछन्, लकडाउनले कुरिलोको माग बढ्यो, पु-याउनै समस्या भइरहेको छ’, उनले भने ।

    उनले गत फागुन २८ गतेदेखि हालसम्म रु एक लाख एक हजारको कुरिलो बिक्री गरिसकेका छन् ।

    बन्दाबन्दीको समय भएकाले बगनासकाली आसपासका क्षेत्रबाट मानिसले घरमै आएर कुरिलो लैजाने गरेपछि नियमित ग्राहकसमक्ष पुर्याउन नसकिएको उनको भनाइ छ।

    बन्दाबन्दीको समय लम्बिँदै जादा पाल्पामा कुरिलोको माग बढ्दै गएको छ । व्यावसायिक रुपमा जिल्लाको बगनासकाली– ८ बराङ्गी क्षेत्रमा कुरिलोको व्यावसायिक खेती गरिँदै आएको छ।

    घिमिरेले कुरिलोको माग अहिले ह्वात्तै बढेपछि बेमौसमी याम (मङ्सिर, पुस र माघ) मा उत्पादन लिनका लागि दुई सय बिरुवा टनेलमा लगाएका छन् ।

    साढे तीन रोपनी क्षेत्रफलमा कुरिलो लगाउनुभएका घिमिरे बजारमा हाल प्रतिकिलो रु चार सयमा बिक्री गर्छन् ।

    किसान केशवमणि बस्यालले कुरिलोको माग अहिले बढेपछि एक सय विरुवा थप गरेका छन् ।

    परीक्षणका रुपमा लगाइएको ९० बोटबाट उत्पादन राम्रो र माग धेरै भएपछि विरुवा बढाएका हुन् ।

    यहाँ उत्पादित कुरिलोको बुटवल बजार, बुटवलको भाटभटेनी र तानसेन बजारबाट माग आउने गरेको कृषक लुमकला घिमिरेको भनाइ छ।

    उनी फाइदा हुने भएपछि जेटिएको जागिर छाडेर कुरिलोको व्यावसायिक खेतीमा लागेका छन् ।

    गाउँपालिकाले चालु आर्थिक वर्षमा मागमा आधारित व्यावसायिक कुरिलो विस्तारका लागि तालीम, वीउवितरण जस्ता कार्यक्रम गरिएको कृषि शाखा प्रमुख राजेश बोहरा बताउँछन् ।

    उनका अनुसार गाउँपालिकाका सबैजसो ठाउँमा कृषकले थोरैथोरै भए पनि कुरिलो लगाएका छन् । बिक्रीका लागि व्यावसायिक खेती गर्ने कृषक भने करीब छ जना छन्।

    जिल्लामै कुरिलोको व्यावसायिक खेती बगनासकालीको बराङ्गी क्षेत्र मात्र भएको छ। जिल्लाका अन्य स्थानमा पछिल्लो समय घरायसी प्रयोजन र सोंखका लागि पनि कुरिलो लगाउने गरिएको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउँछन् ।

    मागमा आधारित कार्यक्रमअन्तर्गत अनुदान दिनलिनका लागि एक कृषकले कम्तीमा २० रोपनी क्षेत्रफलमा खेती गरेको हुनुपर्ने उनको भनाइ छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस