नेपालले कसैको आदेशमा लिपुलेकमा भारतलाई दोष दियो – भारतीय सेनाप्रमुख - सिधा मिडिया






नेपालले कसैको आदेशमा लिपुलेकमा भारतलाई दोष दियो – भारतीय सेनाप्रमुख

    २ जेष्ठ २०७७, शुक्रबार २२:३०  मा प्रकाशित
154 जनाले पढ़िसके









काठमाडौं। भारतीय सेना प्रमुख जनरल मनोज नरवणेले लिपुलेकमा भारतले नेपाली भूमिको अतिक्रमण गरेको भनी नेपालले अरु कसैको आदेश बमोजिम भारतलाई दोष दिएको आरोप लगाएका छन्।

उनले चीनलाई संकेत गर्दै त्यसो भने पनि नेपालले कसको आदेशमा त्यसो गरेको भन्ने नाम भने उल्लेख गरेनन्। ‘मानसरोवर जाने भारतीय तीर्थयात्रीहरुको यात्रा समय छोट्याउनका लागि लिपुलेक हुँदै नयाँ सडक बनाउँदा कतै कुनै कुरासँग अन्तरविरोध भएको छैन,’ भारतीय सञ्चारमाध्यमहरुले उनलाई उद्धृत गर्दै समाचार प्रकाशित गरेका छन्।

नेपालको भूमि अतिक्रमण गरी लिपुलेकमा सडक बनाएको नेपाल सरकारबाट र सर्वदलीय तथा सर्वपक्षीय रुपमा चर्को आलोचना भइरहेका बेला भारतीय सेना प्रमुखले नै भारतीय कदमको प्रतिरक्षा गरेका हुन्।

‘वास्तवमा, नेपाली राजदूतले काली नदीदेखि पूर्वको क्षेत्र उनीहरुको भनी उल्लेख गरेका छन्। त्यसबारे त कुनै विवाद नै छैन। हामीले बनाएको सडक त नदीभन्दा पश्चिमपट्टि रहेको छ,’ त्यहाँको एक थिंकट्यांकले आयोजना गरेको वेविनारमा आफ्नो धारणा राख्दै उनले भने, ‘त्यसकारण, उनीहरु किन आन्दोलित भइरहेका छन्, मलाई थाह छैन।’

नेपालले अरु कसैको आदेश बमोजिम त्यसो गरिएको हुनसक्छ भन्ने विश्वास गर्ने कारण रहेको दाबी गर्दै त्यसको धेरै संभावना रहेको जिकिर समेत गरे। ‘ट्राई–जङसन (भारत–चीन–नेपालको) ठ्याक्कै कहाँ हुनुपर्छ, भन्नेलगायत केहि साना विषयहरु मिलाउन बाँकी छन्,’ उनको दाबी छ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारतले नेपाली भूमि लिपुलेक हुँदै बनाएको सडकको गतसाता उद्घाटन गरेपछि भारतको सो एकपक्षीय कदमको चर्को आलोचना भइरहेको छ। सो सडक चीन अध्ययन समूहको निर्देशनमा बनेको र त्यसका लागि इन्डो–चाइना बोर्डर फण्डबाट लगानी गरिएको समेत भारतीय सञ्चारमाध्यम इण्डियनएक्सप्रेसले जनाएको छ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस