कोरियामा समस्यामा रहेका नेपाली भोलि फर्कंदै, त्यही जहाजमा १६१ नेपाली भोलि नै कोरिया जाने

सिधा मिडिया संवाददाता
    ५ असार २०७७, शुक्रबार १९:४९  मा प्रकाशित
131 जनाले पढ़िसके

प्रतिक्रिया




    काठमाण्डौ – कोरियामा समस्यामा रहेका नेपाली लिएर आउने कोरियन एअरलाइन्सले फर्कंदा १६१ जना नेपाली लिएर जाने भएको छ । कोरियाबाट बिदामा नेपाल आएका र फर्कनका लागि भ्यालिड भिसा र श्रम स्वीकृति भएका नेपालीहरु मात्रै फर्कन लागेको ईपीएस कोरिया शाखाका अधिकृत बाबुराम घिमिरेले जानकारी दिनुभयो ।

    अहिले भिसा नभएका या नयाँ प्रक्रिया गरेर जानुपर्ने लगायत ईपीएस कोरिया शाखाबाट थप प्रक्रिया गर्नुपर्ने कोही पनि नेपाली कोरिया जान पाएका छैनन् ।

    ‘उहाँहरु घुम्न या परिवारिक भेटघाटका लागि बिदामा नेपाल आउनुभएको र जोसँग अवधि भएको भिसा र श्रम स्वीकृति छ उहाँहरु मात्रै फर्कनु हुने हो,’ शाखा अधिकृत घिमिरेले भन्नुभयो,‘थप प्रक्रिया गरेर जाने नेपालीहरु यस उडानमार्फत जान पाउनु हुने छैन ।’

    घिमिरेका अनुसार जुन १६ अर्थात गएको मंगलबार पनि १६८ नेपाली कोरिया फर्किएका छन् । उनीहरु पनि बिदामा नेपाल आएका र साथमा आधिकारीक भिसाको अवधि र श्रम स्वीकृति भएकाहरु नै हुन् ।

    नेपालमा रहेको कोरियन दूतावास र एचआरडी कोरियाको समन्वयमा उनीहरु फर्केका हुन् ।

    गएको वैशाख १४ गते मन्त्रिपरिषद्को बैठकले सबै प्रक्रिया पूरा भएर पनि कोरिया जान नपाएका नेपाली श्रमिकलाई कोरिया सरकारसँग समन्वय गरेर उड्न दिने निर्णय गरेको थियो । त्यो बेला श्रम मन्त्रालयले पनि आफ्नै खर्चमा जान चाहेमा पठाउने भनेर सूचना निकालेको थियो भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना जाँच गराउन पनि भनिएको थियो ।

    सुरुवातमा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोरियाबाट बिदामा आएकालाई लैजाने प्रक्रियासहितको प्रस्ताव सरकारसँग राखेको थियो । ईपीएस प्रणालीमार्फत रोजगारीका लागि कोरिया जाने अनुमति पाएकालाई नेपाल एयरलाइन्सको वाइडबडी जहाज चार्टर गरेर दक्षिण कोरिया पठाउने तयारी पनि गरेको थियो ।

    गैरआवासीय नेपाली संघका अध्यक्ष तथा कोभिड–१९ उच्चस्तरीय समितिका संयोजक कुमार पन्तले अनुसार, भिसासहित सम्पूर्ण कागजी प्रकृया पूरा गरेर नेपालमा रोकिएका १ हजार ३ जनालाई दक्षिण कोरियाको श्रम गन्तव्यमा पुर्याउन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज चाटर्ड गर्न लागिएको पनि बताउनुभएको थियो । तर पछि प्राविधिक कारणले यो उडान हुन सकेन ।

    फर्कने नेपालीको स्वास्थ्य अवस्थाको बारेमा यकिन गर्न एचआरडी कोरियाले नै समन्वय गरिरहेको छ । बिरामी वा कोरोनाको लक्षण नभएका, यात्रा गर्न मिल्ने अवस्थाका नेपाली मात्रै जान पाउनेछन् । जानेले सेल्फआइसोलेसन लगायतका विषयमा फारम भर्नु पर्नेछ ।

    भोलि कोरियाबाट प्रवेशाज्ञा अवधि सकिएर फर्कन नसकेका नेपालीमध्ये २३६ जना स्वदेश आउँदैछन् । नेपाली राजदूतावास सोलको पहलमा नेपाली यात्रु बोकेर कोरियन एअरको चार्टर्ड विमान केई ९६९५ नेपाल आउन लागेको हो ।

    अवैधानिक बसोबास गरेका अभियोगमा दक्षिण कोरियामा बन्दी जीवन बिताइरहेकामध्येबाट १५, बिरामी तथा गर्भवती ३६ जनासहित कोरियामा रोजगारी वा अन्य सिलसिलामा रहेर प्रवेशाज्ञा अवधि सकिएर नेपाल फर्कन नसकेकाहरू रहेको गैरआवासीय नेपाली सङ्घ कोरियाका महासचिव विमल सुवेदीले बताउनुभयो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस