गाउँलेले कोरोना भगाउन पशुबली दिए, अगुवा भन्छन्– अन्धविश्वास

सिधा मिडिया संवाददाता
    ११ असार २०७७, बिहीबार २१:३१  मा प्रकाशित
206 जनाले पढ़िसके

प्रतिक्रिया




    जनकपुरधाम । तराई–मधेशको पौराणिक वाद्यवादन ढोल, पिपही घन्किरहेको छ । खाली चौरमा चारैतिर मान्छेको भिड छ । महिला, बालबालिका, बृद्वबृद्वा, युवा सबै मग्न छन् ।

    चारैतिर घेरा बनाइएको भिडबीचमा पूजा सामग्री राखिएको छ । त्यहीं आगो बालेर पकाइएको खीर केराको पातमा राखिएको छ । ती खीरमाथि लड्डू, केरा र सुपारी सजाइएको छ ।

    मिथिला क्षेत्रका हस्तकलाका सामग्री डलिया, मौनी पनि पूजास्थलमा सजाएर राखिएको छ । धूपले वातावरण सुगन्धित बनेको छ ।

    घेराभित्र केही महिला–पुरुष पूजापाठमा व्यस्त छन् । आधाघण्टा जति पूजापाठ गरेपछि उनीहरु नाच्न थाल्छन् । अब देऊता आएको विश्वास गरेको भिड शान्त बन्छ । शान्त भिडमा अब कौतुहलता भरिएको देखिन्छ ।

    त्यहीबीचमा ढोल र पिपहीको आवाज चर्किन्छ । पूजामा सरिक महिलाहरु आफ्नो बाँधिएको केश फुकाउँदै, ‘है, हौ, पापी भाग…’ भन्दै अझ जोडले नाच्न थाल्छन् ।

    धनुषाको शहीद नगरपालिका– ८ बिसरभोराको यो दृश्यले ठूलै पूजा आयोजना भएको जनाउँछ । मधेशका जिल्लामा बाह्रै महिना सामूहिक पूजापाठ भइरहने भएपनि बिसरभोरामा भइरहेको पूजा पृथक थियो ।

    खासमा यो कोरोना भाइरस भगाउन भन्दै आयोजना गरिएको पूजापाठ थियो । हातमा लाठी लिएका पुरुष नाच्दै सोध्थे– ‘यो भाइरस कसलाई भन्छ ?’

    भिडबाट केही व्यक्ति उत्तर दिन्थे– ‘अर्कै दुनियाँको हो रे ! यसले मान्छे मार्छ ।”

    नृत्यरत पुरुषले लाठी उचाल्दै ‘भाइरस, ताइरस भाग्…’ भनेपछि भिड आश्वस्त भएको आभास हुन्थ्यो ।

    कोरोना भगाउने धामीको भूमिकामा गाउँकै भोला तेथबार यादव, विश्वनाथ कुर्मी, मंगलीदेवी दास, कैलाश देवी महरा र सुमिन्त्रादेवी दास थिए ।

    कोरोना महामारी लम्बिदै जाँदा मधेशका जिल्लाहरुमा पूजापाठ हुन थालेको छ । बिसरभोरामा ‘कोरोना भगाउने पूजा’का लागि प्रत्येक घरबाट १०० रुपैयाँ चन्दा संकलन गरिएको थियो ।

    बिसरभोरामा कोरोनाको नाममा पशुवली समेत दिइयो । एउटा बोका, दुईवटा पाठी र चारवटा परेवा वली दिइएको स्थानीय उपेन्द्र यादवले बताए ।

    उनका अनुसार, गाउँका केही अगुवाहरुले यसलाई अन्धविश्वास भन्दै विरोध गरेका छन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस