नेपाल भित्रिएका सलहले बाली खान थाले, विषादी छर्केर थाल बजाइँदै

सिधा मिडिया संवाददाता
    १३ असार २०७७, शनिबार १५:५४  मा प्रकाशित
99 जनाले पढ़िसके

प्रतिक्रिया




    काठमाडौं । नेपाल भित्रिएको सलह किराले तरकारी बाली खान थालेका छन् । शनिबार सर्लाही, बारा र पर्सामा सहल भेटिएको छ । फट्यांग्राकै एक प्रजतिका रुपमा रहेको सहल अनिकाल निम्त्याउने किराका रुपमा परिचित छ । यसले बालीनालीमा एकसाथ ठूलो संख्यामा बसेर बालीसहित बोट नै खाने गर्छ ।

    सर्लाहीको तेलबाली अनुसन्धान कार्यक्रमको कार्यालय नवलपुरमा विहान सलहको विशाल झुन्ड फेला परेको छ । कार्यक्रम प्रमुख वीपी यादवका अनुसार साँझ ८ बजेसम्म किरा देखिएको थिएन, बिहान ६.१५ मा किरा देखिएको थियो । त्यहाँ हजारौंको संख्यामा ठूलो झुन्ड सलह रहेको उनले जानकारी दिए ।

    ‘बदम, धानका बोटहरु खाँदै छ, मैले प्रमुख जिल्ला अधिकारीलाई र मन्त्रालयमा जानकारी गराईसकेको छु । अहिले स्थानीयसहित हामी प्राविधिकहरु खटेका छौं । विषादी छर्किने र थाल बजाउने गरेर किरा भगाउँदैछौं ।’

    बारामा देखिएको सलह किरा । तस्वीर : जितेन्द्र यादव

    बाराको निजगढ र सिमारामा पनि बिहान सलह किरा आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

    दुवै जिल्लामा प्राविधिकसहितको टोली परिचालन भइसकेको प्रवक्ता मन्त्रालयका प्रवक्ता सहसचिव डा. हरिबहादुर केसीले जानकारी दिए । सलह किराको समूहले नेपालमा क्षति पुर्याए, नपुर्‍याएको भने खुलिसकेको छैन ।

    बाराको कृषि ज्ञान केन्द्र प्रमुख जितेन्द्र यादव पानी परिरहेको बेला सलह किरा नेपाल भित्रिएको पुष्टि भएको बताए ।

    ‘हाम्रो टोली तत्काल परिचालन भयो, किराहरु रुखमा बसिरहेको हामीले भेट्यौं, त्यहाँ किराको झुन्ड सानो थियो, बाली संरक्षण प्रविधिकले हेर्दा त्यो सलह भन्ने पुष्टि भयो,’ केन्द्र प्रमुख यादवले भने । उनकाअनुसार पानी रोकिएपछि किराहरुले त्यहाँ पनि तरकारी बाली खान थालेका छन् ।

    ‘किराहरु ठूलो संख्यामा निजगढमा छ भन्ने पछिल्लो सूचनापछि हामी अहिले त्यता जाँदैछौ हामीसँग प्राविधिक पनि छन्त, तत्कालका लागि हामीले किरा भएको क्षेत्र पहिल्याउँदैछौं,’ उनले भने ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस