नेपालमा निष्क्रिय हुँदै सलह, फेरि आउने सम्भावना छैन

सिधा मिडिया संवाददाता
    २२ असार २०७७, सोमबार १४:२१  मा प्रकाशित
55 जनाले पढ़िसके

प्रतिक्रिया




    अफ्रिकाबाट खाडी मुलुक, इरान र पाकिस्तान हुँदै भारत छिरेका सलह कीराका बथानहरू गत १३ गते शनिबार बिहान नेपाल प्रवेश गरे ।

    सलहले एक सातामा ५ वटा जिल्लामा बढी क्षति र्पुयाएको छ । करिब ६ पटकमा ८० लाखसम्म सलह कीरा नेपाल पसेको र धेरै बथानमा छुट्टिएर विभिन्न ठाउँमा पुगेको प्लान्ट क्वारेन्टिन तथा व्यवस्थापन केन्द्रले जनाएको छ ।
    केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीका अनुसार हालसम्म सलहले ५ जिल्लामा १ हजार हेक्टरभन्दा बढी जमिनमा मकै, भटमास धान र फलफूलमा क्षति र्पुयाएको जानकारी प्राप्त भएको छ ।

    ‘केन्द्रले कृषि ज्ञान केन्द्र, स्थानीय तहका प्राविधिक र किसानहरूसँगको समन्वयमा क्षतिको विवरण संकलन गरिरहेको छ’ सुवेदीले भने, ‘५ वटा जिल्लाको विवरण प्राप्त भएको छ, जसमा १ हजार ११८ हेक्टर जमिनको बालीमा सलहले क्षति र्पुयाएको देखिन्छ ।’

    हालसम्म ५३ भन्दा बढी जिल्लामा सलह कीरा प्रवेश गरे पनि बथान बनाएर करिब २७ जिल्लामा पुगेको र केही ठाउँमा सामान्य क्षति र्पुयाएको उनले बताए ।

    सुवेदीका अनुसार सलहका झुण्डहरू अहिले रुकुम, रोल्पा, सल्यान पुगेको जानकारी प्राप्त भएको छ । ती स्थानमा क्षति र्पुयाएको जानकारी भने आएको छैन ।

    मनसुनी वर्षामा अनकूल वातावरण नभएकाले सलह क्रियाशील हुन नपाएको उनले बताए । पानीले पखेटा भिजेपछि सलह उड्न सक्दैन र निष्क्रिय हुन्छ ।

    कृषि विभागका पूर्वमहानिर्देशक डा. दिल्लीराम शर्माका अनुसार अहिले सलह कीराका बथानहरू विस्तारै मरुभूमितिर फर्किंदैछन् । सलहका बथानहरू हावाको दिशातिर उड्छन् । हावाको वेगअनुसार स्थान परिवर्तन गर्ने भएकाले कताबाट कता पुग्छ भन्ने निश्चित अनुमान गर्न सकिँदैन ।

    ‘अहिले हावा पूर्व–पश्चिम चलिरहेको छ, यही अवस्था रहेमा अझै केही दिन स्थिर हुने देखिन्छ, कीरा पनि पश्चिमतर्फ पुगेका छन्,’ शर्माले भने, ‘अब उत्तरबाट दक्षिणतर्फ हावा चल्यो भने नेपालमा भएका कीरा बाहिरिन्छन् ।’

    अहिले भारतमा भएका सलह कीराहरू नेपालको सीमानातर्फ नरहेकाले नेपालमा फेरि आउने सम्भावना कम रहेको शर्माको भनाइ छ । उनका अनुसार उत्तरपूर्वतर्फ हावा चल्यो भने अर्को झुण्ड आउने सम्भावना हुन्छ ।

    एउटा वयस्क सलह कीरा सामान्यतया २ हप्ता बाँच्छ । नेपाल आएको ८ दिन बितिसकेकोले अब धेरै दिन बाँच्न नसक्ने र उड्न सक्ने जति राजस्थानतिर फर्किने शर्माको भनाइ छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस