संखुवासभामा ११ जना वेपत्ताको खोजी आइतबार रोकियो

सिधा मिडिया संवाददाता
    २८ असार २०७७, आईतवार २१:०२  मा प्रकाशित
45 जनाले पढ़िसके

प्रतिक्रिया




    संखुवासभामा पहिरोमा परी वेपत्ता भएका ११ जनाको खोजी आइतबार रोकिएको छ । साँझसम्म पनि हराएकाहरु फेला नपरेको र मौसम खराबीका कारण सोमबार खोज्नेगरी रोकिएको हो ।

    संखुवासभाको सिलिचोङ गाँउपालिका–१ सिसुवाखोलामा आइतबार बिहान पहिरो जाँदा नौं घर बगाएको छ । जसमा ११ जना वेपत्ता भएका छन् । पहिरोमा परेका चार जनाको स्थानियवासीले जिवितै उद्धार गरेको प्रहरीले जनाएको छ । पहिरोमा परी पाँच घर परिवारका ११ जना वेपत्ता भएका हुन् ।

    पहिरोमा परी वेपत्ता हुनेमा सिलिचोङ–१ बेसिन्दा गाउँका ६० बर्षीय राममान राई, उहाँकी श्रीमति ६५ बर्षीया हस्तकुमारी राई, छोरीहरु २१ बर्षीया एन्जिला राई र ११ बर्षीया नम्रता राई हुनुहुन्छ । त्यस्तै जुद्धबहादुर राईको श्रीमति ६५ बर्षीया गोरीमाया राई र छोरी २२ बर्षीया प्रकृति राई रहनुभएको छ ।

    सोही पहिरोमा परी ५२ बर्षीय जुद्धबहादुर राई (माने) र उहाँकी श्रीमति ४५ बर्षीया उत्तरकुमारी राई पनि वेपत्ता हुनुभएको छ । त्यस्तै ८४ बर्षीय हर्कराज राई र उहाँकी ८२ बर्षीया श्रीमति आईतमाया राई रहनुभएको छ । यस्तै ७० वर्षीय नजमाया राई पनि सोही पहिरोमा परी वेपत्ता हुनुभएको प्रहरी नायव उपरिक्षक नवराज मल्लले बताउनुभयो ।

    पहिरोमा पुरिएका ७९ बर्षीय गोवासिंह राई, उहाँकी श्रीमति ६० बर्षीया फुलमाया, छोरी १४ बर्षीया भिमसरी राई र भिमबहादुर राईलाई स्थानीयले उद्धार गरेका छन् । जसमा गोवासिंह राईको अवस्था गम्भीर छ भने अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उहाँहरु सबैलाई स्थानीयले उद्धार गरेका हुन् ।

    घटनास्थलमा पानी परिरहेकाले उद्धारमा कठिनाई भएको प्रहरीले जनाएको छ । वेपत्ता भएकाहरुको नेपाली सेना, प्रहरी र स्थानियले खोजि गरिरहेका छन् । घटनास्थल सदरमुकाम खाँदवारीबाट एक दिन पैदल दूरीमा रहेको छ । वेपत्ताको खोजिका लागि ताम्कु, सिसुवाबाट प्रहरी र सेनाको टोली गएको छ । सदरमुकाम खाँदवारीबाट थप प्रहरी १५ जना, ससस्त्र प्रहरी १५ र नेपाली सेना ३० जना त्यस तर्फ पैदल मार्गबाट पठाईएको प्रमुख जिल्ला अधिकारी जिवनप्रसाद आचार्यले बताउनुभयो ।

    पहिरो बेसिन्दा गाउँको करिव ३ सय मिटरमाथिबाट झरेको थियो । पहिरोले गोवासिंह राई, राममान राई, जुद्धबहादुर राई गैरी, जुद्धबहादुर राई माने, नजमाया राई, हर्कराज राई, भिमबहादुर राई, सन्दीप राई र सुभधन राईको घर बगाएको प्रहरीले जनाएको छ । यसैबीच, पहिरोमा उद्धार कार्यमा खटिएका स्थानीय मदन राईको भने हृदयद्धाटका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । उहाँ दमका रोगी हुनुहुथ्यो ।

    यसैबीच आइतबार विहान अविरल बर्षाको कारण जिल्लाका विभिन्न स्थानमा बाढी र पहिरोले लगाएको अन्नबालीमा समेत लाखौंको क्षति पु¥याएको बताईएको छ । मौसम खुल्नासाथ इटहरीमा भएको सेनाको हेलिकप्टर घटनास्थलमा लैजाने तयारी भएपनि आइतबार मौसम नखुल्दा हेलिकप्टर उडाउन नसकिएको सेनाको बराहदल गुल्मले जनाएको छ । दुर्गम भेगमा गएको पहिरोका कारण पूरै गाउँ शोकमग्न बनेको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस