धादिङमा बाढी पहिरोको कहर, दर्जनौं घर पुरियो

सिधा मिडिया संवाददाता
    ५ श्रावण २०७७, सोमबार २०:१६  मा प्रकाशित
81 जनाले पढ़िसके

प्रतिक्रिया




    केही दिनदेखि परिरहेको अबिरल वर्षाका कारण धादिङका विभिन्न स्थानमा पहिरो गएका छन् भने दर्जनौ घरहरु पुरिएको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ स्थित मलेखु बजारस्थित पुलछेउमा पहिरो जाँदा ६ घर पुरिएको छ ।

    पहिरोमा परी १७ वर्षीया किशोरी निरुता परियार बेपत्ता भएकी छन् भने वर्ष २८ का दिपेन चौधरी घाइते भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । वर्षाका कारण गएराती १ बजेको समयमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो । खड्काले निरन्तर वर्षाका कारण पहिरो नरोकिएकाले उद्धार कार्यमा कठिनाई भएको बताउनुभयो ।

    पहिरोले गर्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । यस्तै पहिरोका कारण धादिङको गजुरी गाउँपालिकालाई समेत क्षति पुयाएको छ । सोमबार बिहानदेखि परेको अविरल वर्षाका कारण गाउँपालिका परिसर नजिकै पहिरो जाँदा गाउँपालिका कार्यालयमा समेत असर पु¥याएको छ । गाउँपालिका परिसरबाट बगेको लेदो माटो गाउँपालिका अगाडिको सडक हुँदै गलौदी पुलसम्म पुग्दा सडक अवरुद्ध भएको हो ।

    उता पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० स्थित जवाङ खोलाले ३ वटा गाडी बगाएको छ भने ४ वटा गाडी पुरेको हो । पृथ्वी राजमार्गमा रोकिराखेको एक मिनिट्रक र दुइवटा जीप बगाएको र २ वटा, ट्रक, एउटा जीप र एउटा कार माथिबाट खसेको लेदोले पुरेको प्रहरीले जानकारी दिएको छ । यस्तै वेनिघाट रोराङ १० मा पर्ने पृथ्वी राजमार्गस्थित मौवाखोलामा रहेको धादिङ र चितवन जोड्ने पक्की पुलसमेत खोलामा आएको बाढीले भत्काएको छ ।

    यस्तै बाढीले अमृत बहादुर गुरुङको सहित ३ वटा घर बगाएको छ । उता बेनिघाट रोराङ ८ धुषामा स्थानीय निशा चेपाङको घर पहिरोले पुरिदा ५ वर्षकी छोरी सङ्गीता चेपाङ घाइते भएकी छन् । बाढी कै कारण बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० मा मौवा खोलाले ३ वटा घर बगाएको छ ।

    निरन्तरको वर्षाका कारण मौवाखोलामा आएको बाढीले यस्तै धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ६ स्थित महेश खोलाले बगाउँदा महादेवबेशीकी एक महिला बेपत्ता भएकी छिन् । अविरल वर्षाका कारण सोमबार बिहानैदेखि महेश खोलामा आएको बाढीले महादेवबेसीकी ६० बर्षकी बृद्ध महिलालाई खोलाले बगाएको हो ।

    यस्तै उत्तरी धादिङ रुबीभ्याली गाउँपालिका, खनियाँबास गाउँपालिका गंगाजमुना गाउँपालिकाका विभिन्न ठाउाहरुमा समेत पहिरो गएको छ भने पृथ्वी राजमार्ग अबरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक रविन्द्र रेग्मीको टोलीले पहिरोका कारण अवरुद्ध भएका सडकहरु खुलाउने तयारी गरिरहेको छ । रेग्मीले निरन्तर बर्षाका कारण धादिङ जिल्लामा जुन सुकै बेला आपत आइ पर्न सक्ने बन्दै सुरक्षा निकाय, स्वास्थ्यकर्मी र उद्धार टोलीहरुलाई तयारी अबस्थामा रहन आग्रह गर्नुभएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस