तीन हप्तामा कोरोना संक्रमण पिकमा पुग्दैछ, ‘हाइ अलर्ट’ बसौं

काठमाडौंमा लक्षणसहितका संक्रमित भेटिएका कारण जोखिम बढी छ। संक्रमितले खोके भने कति टाढासम्म जाला? मास्क लगाएर खोक्न हामीले जानेकै छैनौं। हाँच्छिउँ गर्दा र खोक्दा मास्क खोल्छौं। त्यो सबैभन्दा ठूलो ‘सुपर स्प्रेडर’ हो।
सिधा मिडिया संवाददाता
    २९ श्रावण २०७७, बिहीबार ११:५२  मा प्रकाशित
338 जनाले पढ़िसके

प्रतिक्रिया




    काठमाडौंमा असारको ९ गतेसम्म कोरोनाको ६५ सक्रिय केस थियो। त्यो संख्या साउन १३ गतेदेखि तीव्र रुपमा बढ्न थाल्यो। साउन २३ गते १ सय ६ वटा केस आयो। साउनको २७ गते आइपुग्दा एकै दिन १ सय ३४ केस पुगेको छ। यसरी काठमाडौंमा साउन २७ सम्म १ हजार ५८ सक्रिय केस देखिन्छ। लतितपुरमा १ सय ५९ र भक्तपुरमा ९७ सक्रिय संक्रमित छन्। साउन २७ सम्म काठमाडौं उपत्यकामा साढे १२ सय जम्मा संक्रमित छन्।

    यसले संकेत गरेको मुख्य कुरा के हो भने काठमाडौंमा अहिले चाहिँ बाहिरबाट संक्रमित आएका छैनन्। यहाँका स्थानीय केस नै बढ्दो क्रममा छ। अझै पनि धेरैजसो संक्रमित आयातित नै हुन्। त्यसको स्रोत बाहिरी जिल्ला हुन्। अहिले नेपालमा ५ सयभन्दा बढी संक्रमित भएका जिल्ला ४ वटा छन्– पर्सा, काठमाडौं, रौतहट र महोत्तरी। यी चार जिल्ला र अरु जहाँ २ सय भन्दा बढी संक्रमित छन्– बाँके, मोरङ, धनुषा लगायतका हट स्पटबाट काठमाडौंमा आवतजावत देखियो।

    त्यो आवजतका कारणले पनि संक्रमण नियन्त्रण चुनौतीपूर्ण देखिएको छ। यहाँ कुनै न कुनै रुपबाट मोबिलिटी भइरहेको छ। साँगा र नागढुङ्गाबाट मात्र आएको केस होइन, अन्तबाट पनि प्रवेश गरेका मानिसमा देखिएको हुनसक्छ। आवतजावतमा नियन्त्रण हुन सकेन। बाहिरबाट भित्र आउन मात्रै रोकियो भने पनि यहाँ रहेकाहरुको निगरानी, कन्ट्याक्ट ट्रेसिङ र उपचारको विधिबाट नियन्त्रण गर्न सकिन्थ्यो।

    पहिलो कुरा बाहिरबाट आउने क्रम रोक्न अत्यन्तै जरुरी देखिन्छ। दोस्रो, काठमाडौंमा विभिन्न क्लस्टरमा संक्रमण देखिएको छ। प्रहरी हेडक्वार्टरमा देखियो, अख्तियारको मुख्यालयका कर्मचारी, अस्पतालमा देखियो। अर्काे वेट मार्केट (तरकारी, मासु पसल) मा काम गर्ने मजदुर, व्यापारीहरुमा संक्रमण देखियो। यसका साथसाथै निर्माण र उद्योगहरुमा सुरक्षित जनस्वास्थ्यको मापदण्ड प्रयोग नगरी काम गर्ने क्रम ह्वात्तै बढेको हुँदा काठमाडौंमा संक्रमणदर बढ्दो देखियो।

    यसलाई रोक्न लक्षणयुक्त व्यक्ति पत्ता लगाउनुपर्‍यो। उनीहरुको परीक्षण गर्नुपर्‍यो। कन्ट्याक्ट ट्रेसिङका लागि स्थानीय सरकार, काठमाडौंको सन्दर्भमा महानगरपालिका, यसका वडा कार्यालयहरु र टोल टोलमा अभियानकै रुपमा कन्ट्याक्ट ट्रेसिङ लग्नुपर्ने देखिन्छ। संक्रमण भएर नदेखिएको समूहको खोजी, र उनीहरुको परीक्षण पनि गर्नुपर्छ। अर्काे कतिपय संक्रमित जो लक्षण भएका हुनुहुन्छ भने कतिपय लक्षण नभएका हुनुहुन्छ। उहाँहरु घरमा कसरी बस्नुभएको छ, सुरक्षित हुनुहुन्छ कि छैन भन्ने कुराको निगरानी गर्न सकिन्छ।

    काठमाडौं जिल्लामा ठूलो जनसंख्या छ। आजको दिनमा यहाँ ९ सय ३३ जना संक्रमित छन्। उता पर्सामा ९ सय ६४ जना संक्रमित छन्। स्वास्थ्य सेवा, अस्पताल, जनशक्ति र स्रोत साधनको हिसाबले हेर्दा पर्सामा तयारी अपर्याप्त देखिन्छ। पर्याप्त स्वास्थ्यकर्मी छैनन्। तर, काठमाडौंमा स्रोत, अस्पताल, दक्ष जनशक्ति पर्याप्त देखिन्छ।

    यति भन्दैमा ढुक्क हुने अवस्था रहँदैन। सेवा प्रवाह गर्ने संस्थालाई एकदमै ‘हाइ अलर्ट’ मा राख्दै तीव्र र प्रभावकारी समुदाय परिचालन गर्न सकियो भने काठमाडौंमा कोभिडको संक्रमण नियन्त्रण हुनसक्छ, गर्न सकिन्छ।

    काठमाडौँमा देखिएका सबै केस स्थानीय होइनन्। ५० प्रतिशतभन्दा बढी आयातित केस छन्। आयातित केसलाई त हामीले पत्ता लगाइसक्यौं। ती सबै कि आइसोलेसनमा कि अस्पतालमा निगरानीमा छन्। उनीहरुबाट कोरोना सरिरहेको छैन। तर, यसको आधा अर्थात् ४ सय ६७ बाहिरबाट नआएर यहीँको क्लस्टरमा बसेको संख्या हो। अहिलेको प्रश्न ती संक्रमितले कतिलाई सम्पर्क गरे? तिनको प्राथमिक हिमचिम कति जनासँग भयो, द्वितीय रुपमा कन्ट्याक्ट कति जनासँग भयो? यी दुवै कुरा पत्ता लगाउन सकियो भने अब बढ्ने संख्या थाहा हुन्छ। विश्वमा हेर्दा एकजना संक्रमितले औसतमा (१३ देखि १५) जनासम्मलाई सारेको देखिएको छ।

    यसलाई सीधा हेर्दा ४ सय ६७ जनाले एक बराबर १० जनालाई सारेको हुनसक्छ। यदि त्यो संख्याले सारेको हो भने त्यो त्यहाँ मात्र रोकिँदैन। एकले १० जनालाई सारेको छ भने फेरि त्यो १० जनाले पनि अन्यलाई सारेको हुनसक्छ। त्यसकारण विशेष चिन्तित हुनुपर्ने अवस्था छ।

    अब कति संख्या काठमाडौंमा संक्रमित होलान त? यसका लागि ‘आउटब्रेक इन्भेस्टिगेसन’ गर्नुपर्ने हुन्छ। त्यसपछि ‘रेट अफ ट्रान्समिसन’ निकाल्नुपर्ने हुन्छ। त्यसमा अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काम गरिरहेको छ। त्यसपछि मात्रै पिक कहिले आउँछ? पिक आउँदा संक्रमितको संख्या कति हुन्छ? अबको एक, दुई हप्ता वा तीन हप्ताको संक्रमणको अवस्था के हुन्छ र कहिले घट्छ भन्न सकिन्छ।

    यसअघि स्वास्थ्य मन्त्रालयका विज्ञ टोलीले गरेको मोडलिङका आधारमा साउनको २५ गतेसम्म नेपालमा लगभग ९१ हजार एक्टिभ केस रहन सक्छ भनेर पूर्वानुमान गरिएको थियो। तर, जनस्वास्थ्यका मापदण्डहरु पालना भयो भने यो भदौको २ गतेसम्ममा ३९ हजार संक्रमित हुनसक्ने भनेर इपिडियोमियोलोजीको मोडलिङ (एसआईआर) विधिबाट गरिएको थियो। सोही कुरालाई प्रधानमन्त्री केपी शर्मा ओलीले आधिकारिक मानेर यसअघि बोल्नुभएको थियो।

    भदौ २ गते ३९ हजार भनेर अनुमान गरिएको छ। यो जम्मा होइन, सक्रिय केस हो। अहिलेपनि केस बढ्ने क्रम तीव्र छ तर, आज हामीले सक्रिय केस हेर्दा त्यो मोडलिङले देखाएको अनुमानमा पुग्ने सम्भावना छैन किनकि अहिले देशभर सक्रिय केस ७ हजार ६ सय ८५ छ।

    यस आधारमा अवस्था भयावह हुन्छ भनेर हामी आत्तिनुपर्ने अवस्था छैन तर, राज्यले तयारी भने व्यापक बढाउनै पर्छ। हामी आत्तिने, डराउने भन्दा पनि व्यक्ति व्यक्ति समूह समूह र समुदायले जनस्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्छ। जस्तो, लक्षण भएको व्यक्ति कुनैपनि हालतमा परिवारको सम्पर्कमा पुग्नुभएन। उसले प्रयोग गरेका कुनैपनि सामान अरुले प्रयोग गर्न दिनुभएन। फेरि यो सधैँ व्यक्तिमा रहँदैन। विश्व स्वास्थ्य संगठनले ७ देखि १० दिनसम्म कोरोना संक्रमण रहने र लक्षण नभएपनि त्यसपछि आफैँ निको हुने बताएको छ। त्यसले गर्दा अहिले हामी आत्तिनुपर्ने अवस्थामा चाहिँ छैनौं। तर, त्यस्तो अवस्था आउनै सक्दैन, आउँदैन भनेर कसैले भन्न सक्दैन। त्यसले गर्दा आफू सुरक्षित हुने र अरुलाई सुरक्षित गराउने नै अहिलेको आवश्यकता हो।

    पर्सा र काठमाडौंमा समुदायमा संक्रमण फैलिसकेको छैन तर, क्लस्टरमा गएको साँचो हो। केही ठाउँहरुमा मात्रै संक्रमितको संख्या झ्याप्प बढेर आएको छ भने त्यो क्लस्टर हो। केस बढी देखिनेबित्तिकै समुदायमा गयो भन्न मिल्दैन।

    काठमाडौंमा लक्षणसहितका संक्रमित भेटिएका कारण अलि बढी जोखिम छ। साउन १३ पछि पहिलेको तुलनामा लक्षणसहितको संक्रमित बढी देखिएका छन्। नेपालमा धेरै समयसम्म लक्षणविहीन संक्रमित थिए। अब लक्षणसहितको संक्रमितको संख्या बढेको हुँदा यसबाट अरु मानिसपनि संक्रमित हुने खतरा बढेको छ। संक्रमितले खोके भने कति टाढासम्म जाला? हामीले २ मिटर भौतिक दूरी भनेका छौं। मास्क लगाएर खोक्न हामीले जानेकै छैनौं। हाँच्छिउँ गर्दा र खोक्दा हामी मास्क खोल्छौं। त्यो सबैभन्दा ठूलो ‘सुपर स्प्रेडर’ हो।

    सार्वजनिक यातायात सञ्चालन भइरहेका छन्। यसबारेमा सरकारले गम्भीर भएर सोच्नुपर्नेछ। बन्द गर्ने हो कि? के आधारमा गर्ने भन्ने व्यवस्थापकीय प्रश्न त होला। तर, स्वास्थ्यको जटिलताको हिसाबले यो झन् जोखिम बढाउने माध्यम बन्दैछ।

    एउटा तथ्यांकले के देखाएको थियो भने मास्क प्रयोग गर्नेको संख्या ७२ प्रतिशत मात्र छ। त्यो मास्क प्रयोग नगर्ने २८ प्रतिशत बस, माइक्रो, टेम्पो वा कुनैपनि सार्वजनिक यातायातमा चढेको भए त्यसले त अप्ठेरो पार्छ। त्यसले गर्दा जनस्वास्थ्यको मापदण्ड सार्वजनिक यातायातमा कति प्रयोग भएको छ? सबैले प्रयोग गरेका छौं कि छैनौं? यो अध्ययन हुनुपर्छ।

    अब काठमाडौंको संक्रमण दर केही बढ्ने नै देखिन्छ। किनभने क्लस्टरहरुमा बढ्दै जान्छ। त्यसकारण हामीले केही समय सार्वजनिक स्थल, पार्टी, रेस्टुराँमा जाने, बस्ने भीडमा जाने कुरालाई रोक्नु नै उपयुक्त हुन्छ। अहिलेको हिसाबले संक्रमित थपिए भने अबको दुईदेखि तीन हप्ता अझै पिकमा जाने देखिन्छ।

    लक्षणसहितको केस बढ्दै जाँदा मृत्युदर पनि बढ्दै जान्छ। सय पुगेपछि त्यसले थप जोखिम बढाउँछ। यसलाई उमेर समूहका आधारमा कसरी बढिरहेको छ भनेर हेर्नुपर्ने हुन्छ। ६० भन्दा माथिको उमेर समूहमा हेर्दा जम्मा केसको २ दशमलव ५ प्रतिशत छ। बुधबारसम्म जम्मा २३ हजार ९ सय ४८ हो। जोखिममा रहेको जनसंख्यामा संक्रमण कम छ तर, भाइरस समुदायमा गयो भने त्यही जनसंख्यालाई समात्छ। त्यसपछि यो संख्या बढ्दै गयो भने ६० वर्षमाथिका मानिस कै मृत्युदर बढी हुन्छ। अहिले नै हेर्दा ६० वर्षमाथिका संक्रमितको मृत्युदर ४ दशमलव ४ को हाराहारी छ। त्योभन्दा कम उमेरकाको मृत्युदर पनि कम छ।

    (जनस्वास्थ्य विज्ञ डा. सुरेश तिवारीसँग नेपालखबरकर्मी सागर न्यौपानेले गरेको कुराकानीमा आधारित)

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस