गुमनाम गुर्जो घरघरमा: किन खाने, कति खाने र कसरी खाने? - सिधा मिडिया





गुमनाम गुर्जो घरघरमा: किन खाने, कति खाने र कसरी खाने?

    १२ आश्विन २०७७, सोमबार १९:०४  मा प्रकाशित
1603 जनाले पढ़िसके








काठमाण्डौंको ठमेलमा जन्मिएकी पुनम प्रधान घरअगाडिको बकाइनोको रुखमा झाँगिएको गुर्जो हेरेर हुर्किइन्।

धेरै लहरा हुने र सजिलै झाँगिने गुर्जो बारीबाट हटाउन दुख भयो भन्दै उनकी आमा गुनासो गर्थिन्।

अहिले कोरोनाभाइरसको कहरमाझ एकाएक चर्चा हुनथालेपछि पुनमले आफन्तको घरबाट गुर्जोको डाँठ मात्रै ल्याएकी छैनन्, यसको बिरुवा पनि बालकुमारीस्थित घरमा रोपेकी पनि छन्।

“यसको फाइदाको कुरा थाहा पाएँ। अहिले हामी परिवार नै दैनिक खान थालेका छौँ,” इन्टेरियर डिजाइनर प्रधानले भनिन्।

पुनमको घरमा मात्रै होइन अहिले गुर्जोको प्रयोग धेरै घरमा हुन थालेको छ।

नेपालमा कोरोनाभाइरसविरुद्ध आयुर्वेदिक औषधीको परीक्षण हुँदै, के-के मिसाएर बनाइएको छ

सहरमा बस्ने कतिले गाउँबाट मगाउन थालेका छन् भने कतिले किनेर गुर्जोको रस पिउन थालेका छन्।

कुनै बेला गाउँघरतिर बस्तुभाउलाई दिइने गुर्जोको प्रयोगप्रति कोरोनाभाइरसको महामारीपछि मानिसहरूको चासो बढ्न थालेको आयुर्वेदका वरिष्ठ चिकित्सक डा. ऋषिराम कोइराला बताउँछन्।

“हामी सानो छँदा गाउँघरतिर दुध धेरै दिन्छ भनेर गाईबस्तुलाई खुवाउने गर्थ्यौँ। पछि अध्ययनका क्रममा मैले यसमा भएको गुणकारी तत्वले शरीरका विकारहरू निकाल्न मद्दत गर्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउने र पाचनशक्ति सबल बनाउने फाइदाबारे थाहा पाएँ,” डाक्टर कोइरालाले बीबीसीलाई भने।

कोरोनाभाइरसको महामारीका कारण यसको फाइदाबारे मानिसहरूले धेरै थाहा पाउन पाएको र महत्त्व बुझेको उनले बताए।

कतिपय प्रयोगकर्ताहरू भारतीय योगगुरु रामदेवले यसको फाइदाबारे बताएपछि खोजेर खान थालेको बताउँछन्।

गुर्जोको वैज्ञानिक नाम टिनोस्पोरा कोर्डिफोलिया हो

किन खाने गुर्जो?

कोइरालाका अनुसार कोरोनाभाइरसअगाडि पनि ज्वरो आउँदा, जन्डिस हुँदा, हाडजोर्नी वा क्यान्सरको समस्या भएका बिरामीलाई खान दिइन्थ्यो।

दक्षिण एशियाका भारत र श्रीलङ्कामा पाइने गुर्जो नेपालको पनि तराईदेखि हिमाली क्षेत्रसम्मै पाइने आयुर्वेदका चिकित्सकहरू बताउँछन्।

रोगसँग लड्ने प्रतिरोध क्षमता बलियो बनाउने भएकोले गुर्जो खाँदा सङ्क्रमणबाट जोगिन मद्दत पुग्ने कोइराला बताउँछन्।

“गुर्जो बहुउपयोगी जडिबुटी हो। यसको अवगुण वा शरीरलाई अन्य असर गर्ने तत्व नभएकोले यो खाँदा फाइदा हुन्छ,” उनले भने।

“यसमा भएको एन्टिअक्सिडेन्ट गुणका कारण कतिपय मानिसले यो खाएपछि अलि कमजोर भएको महसुस गर्न सक्छन्। त्यस्तो भए मह मिसाएर खाँदा हुन्छ।”

उनका अनुसार यसले शरीरमा चिनीको मात्रा थोरै घटाउन सक्छ। तर त्यो असर लामो समय रहँदैन।

नेपालमा खपत बढ्यो, तर बेसार सेवन गर्दा जान्नैपर्ने पाँच मुख्य कुरा यस्ता छन्

गुर्जो कति र कसरी खाने?

चिकित्सक कोइरालाको सुझाव यस्तो छ:

गुर्जो नेपाली बजारमा धूलो वा डाँठका रूपमा उपलब्ध हुन्छ।

धुलो खाने भए पाँचग्राम गुर्जोको पाउडर दुई गिलास पानीमा हालेर उमाल्ने अनि एक चौथाइ भएपछि छानेर वा नछानेरै दिनमा एकपटक खान सकिन्छ।

डाँठ छ भने बूढीऔँला जतिको मोटाइ र त्योभन्दा थोरै कम लम्बाइ भएको गुर्जोलाई थिचेर टुक्रा बनाउने अनि पानीमा उमालेर आधा घटाइ दिनको एक कप खान सकिन्छ।

गुर्जो खाना खानुभन्दा अघि खाँदा त्यसले फाइदा गर्छ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस