प्लाज्मा दिन वा लिन चाहनुहुन्छ ? डाउनलोड गर्नुहोस् यो एप

सिधा मिडिया संवाददाता
    २३ कार्तिक २०७७, आईतवार १२:२३  मा प्रकाशित
80 जनाले पढ़िसके

प्रतिक्रिया





    काठमाडौं । कोरोना संक्रमण भएर उपचाररत बिरामीलाई निको भएका व्यक्तिहरुको प्लाज्मा उपलब्ध गराउन मोबाइल एप तयार भएको छ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलको व्यक्तिगत प्रयासमा प्लाज्मा एप सार्वजनिक भएको हो ।

    हाल एन्ड्रोइडमा मात्रै उपलब्ध यो एप सार्वजनिक भएको ४ दिनमै एक हजारभन्दा बढीले डाउनलोड गरिसकेका छन् भने ४.७ को रेटिङ छ । तीन जना सफ्टवेयर इन्जिनियरको सहयोगमा एप तयार पारिएको पौडेलले जानकारी दिए ।

    ‘यस अवधिमा ६१ जना व्यक्तिले आफू प्लाज्मा दिनका लागि तयार रहेको भन्दै फारम भर्नुभएको छ । तर ११ जनालाई मात्र प्लाज्मा उपलब्ध गराउन सकिएको छ’ उनले भने, ‘उपलब्ध सबै प्लाज्मा उपयोगमा आउन भने सकेको छैन ।’

    प्लाज्मा लिने र दिने व्यक्ति दुवैको रक्त समूह मिल्नुपर्ने हुन्छ । ओ पोजेटिभ ब्लड ग्रुप भएका २३ जनाको प्लाज्मा उपलब्ध भए पनि लिनेको संख्या भने ३ जना मात्र छ ।

    तर बी पोजेटिभका लागि माग भए पनि उक्त समूहको प्लाज्मा भने पर्याप्त मात्रामा उपलब्ध नरहेको पौडेलले जानकारी दिए । हालसम्म बी पोजेटिभ रक्त समूहका दुई जनाले मात्र प्लाज्मा दान गर्न भ्याएका छन् ।

    प्लाज्मा लिने/दिने कसरी ?

    1. सुरुमा यहाँ क्लिक गरी प्लाज्मा एप डाउनलोड गरी इन्स्टल गर्नुहोस् ।
    2. अब एप खोल्नुहोस् र अगाडि बढ्नुहोस् । अनि सँगै देखिएको गुगलको लोगोमा दबाएर आफ्नो जिमेल आईडी छनौट गर्नुहोस् ।
    3. अब एपले तपाईंको गुगलमा रहेको व्यक्तिगत सूचना र ईमेल एड्रेस हेर्ने अनुमति माग्नेछ । त्यसमा तल दायाँतर्फ रहेको अलाउ बटनमा ट्याप गर्नुहोस् ।
    4. अब गुगल लोगोमा थिचेर अगाडि बढ्नुहोस् । त्यहाँ तपाईंले आठ वटा रगत समूह सहितका प्लाज्मा दिने र लिनेका लागि दुई वटा खण्ड देख्नुहुनेछ ।
    5. जसमा तपाईं आफ्नो रगत समूहमा ट्याप गरी प्लाज्मा दिन वा लिन चाहनेको नाम, सम्पर्क नम्बर, अस्पताल र आवश्यक मात्रा जस्ता विवरण फेला पार्न सक्नुहुनेछ ।
    6. साथै यो सूचीमा डोनर वा प्लाज्मा आवश्यक परेको बिरामीको रुपमा आफ्नो नाम उल्लेख गर्न चाहनुहुन्छ भने एपको तल बीच तथा दायाँ भागमा क्रमशः डोनर र प्लाज्मा लिन चाहनेका लागि फाराम दिइएको छ । जसमा तपाईंले आफू रहेको प्रदेश, जिल्ला, फोन नम्बर, रगत समूह, मिति आदि जस्ता विवरण भरेर रजिस्टर गर्न सक्नुहुनेछ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस