“मेरा कारण जनमत आएको हो, मलाई कोइ माइकालालसँग डर छैन”

सिधा मिडिया संवाददाता
    २६ कार्तिक २०७७, बुधबार १९:५९  मा प्रकाशित
172 जनाले पढ़िसके

प्रतिक्रिया





    काठमाडौं – प्रधानमन्त्री केपी ओलीले आफू जनताद्वारा निर्वाचित प्रधानमन्त्री भएको र निडर भएर अगाडि बढ्ने बताएका छन् ।

    आज संखुवासभामा किमाथांका र अरुण तेस्रो जलविद्युत् आयोजनाको अनुगमनका क्रममा आयोजना गरिएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू पार्टी अध्यक्ष र जनताद्वारा निर्वाचित प्रधानमन्त्री भएकाले नडराउने बताए । उनले पार्टी कार्यकर्ताहरूलाई नआत्तिकन अगाडि बढ्न पनि आग्रह गरे ।

    ओलीले आफ्नो दल ५० वर्ष अगाडिदेखि सानासाना टुक्राटुक्रा जोडेर निर्माण गरिएको हुँदा कोही–कसैको चाहनाले नेकपा केही नहुने बताए । साथै उनले नडराइकन काम गर्न कार्यकर्तालाई निर्देशन समेत दिए । नेकपाभित्र आन्तरिक विवाद चर्किरहेका बेला ओलीले यस्तो बताएका हुन् ।

    शनिवार मात्र पार्टी कार्यालय धुम्बाराहीमा अर्का अध्यक्ष पुष्पकमल दाहाल र सचिवालयका अन्य ४ सदस्यले सचिवालयको बैठकको माग गरेका थिए । पार्टीभित्र ओली र प्रचण्ड–नेपाल पक्षको सम्बन्ध चिसिएको छ ।

    प्रधानमन्त्री ओलीले बुधबार संखुवासभाको मकालु गाउँपालिका–५, फ्याक्सिण्डामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन गरेका छन्।

    प्रधानमन्त्री ओलीलाई आयोजनाका प्रमुखले हालसम्म आयोजनाको ४० प्रतिशत काम सम्पन्न भएको अवगत गराइएको थियो । सो आयोजनाको २०७५ वैशाख २८ गते प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।

    प्रधानमन्त्री ओलीले यसअघि चीनसँग जोडिएको किमाथाङ्कामा सडक पूर्वाधार विकासको प्रगतिबारे पनि अनुगमन गरेका थिए । प्रधानमन्त्री ओलीका साथ सङ्घीय मन्त्री, प्रदेश नं. १ का मुख्यमन्त्री, सांसद र जनप्रतिनिधि तथा आयोजना प्रमुख रहेका थिए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस