ओलीलाई पार्टी कमिटीबाट सरकारबाट फिर्ताको निर्णय गराउने प्रचण्डको रणनीति - सिधा मिडिया





ओलीलाई पार्टी कमिटीबाट सरकारबाट फिर्ताको निर्णय गराउने प्रचण्डको रणनीति

    १५ मंसिर २०७७, सोमबार १९:२९  मा प्रकाशित
222 जनाले पढ़िसके








काठमाडौं, १५ मंसिर । नेपाल कम्युनिस्ट पार्टीभित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको लिखित आरोप प्रत्यारोप अब मौखिकमा प्रवेश गर्दैछ । भोलि सचिवालय बैठकमा दुवै अध्यक्षले प्रस्तुत गरेको दस्तावेजमाथि छलफल शुरु हुँदैछ । यसले झन् ठुलो टकराव बढाउँदै जाने देखिदैछ ।

ओलीमाथि लगाइएको आरोप उनलाई सत्ताबाट हटाउने उद्देश्यले प्रेरित रहेको स्वयं उनकै दस्तावेजमा उल्लेख छ । पटक पटक सरकारबाट हटाउने प्रयास भएको समेत उनले उल्लेख गरेका छन् । यतिसम्मकी विदेशीलाई पनि सरकारको काम अल्झाएर आफू प्रधानमन्त्री भएपछि कतिपय विषय सल्टाउने भनेको विषय प्रस्तुत गरेका छन् । यसरी ओलीविरुद्ध नेकपाभित्रको मोर्चाबन्दी उनलाई सत्ताबाट हटाउनकै लागि हो भन्ने प्रष्ट भइसकेको छ । तर, ओलीलाई सत्ताबाट हटाउन कि त अविश्वासको प्रस्ताव ल्याएर सम्भव छ कि त उनी स्वयंले राजीनामा दिएर मात्र सम्भव छ ।

ओली कुनै हालतमा राजीनामा नदिने पक्षमा छन् । उनले यो कुरा स्पष्ट पारिसकेका छन् । उनीविरुद्ध अविश्वासको प्रस्ताव आइहाल्ने सम्भावना पनि बनिसकेको छैन । तर, यसको भित्री तयारी भइरहेको छ । ओली स्वयंले सचिवालयमा प्रस्तुत दस्तावेजमा आफूविरुद्ध प्रचण्डले सांसदहरुलाई खाली कागजमा हस्ताक्षर गराएर अविश्वासको प्रस्तावको तयारी गरेको आरोप लगाएका छन् ।

प्रचण्डले ओलीलाई गलाउँदै लान पार्टी कमिटीबाटै गतिविधि गरिरहेका छन् । सचिवालय, स्थायी कमिटी र केन्द्री कमिटीमा प्रचण्डसहितको मोर्चाको बहुमत छ । सचिवालय बैठकमा दस्तावेजमाथि छलफलपछि स्थायी कमिटी बैठकमा लाने प्रचण्डको तयारी छ । त्यहाँ पनि छलफल गरेर केन्द्रीय कमिटीमा लगेर टुंगो लगाउने र ओलीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गराउने या वाध्य बनाउने सम्मको तयारीमा प्रचण्ड देखिएका छन् । पार्टी कमिटीबाट निर्णय गराएर विधिसम्मत तरिकाले जाने प्रचण्डको तयारी भएपनि ओलीले त्यसलाई नमान्ने संकेत गरिसकेका छन् । उनले पार्टी कमिटीलाई अन्तरिम कालको कमिटी भनिसकेका छन् । यसरी ओलीले संसदीय दलबाटै सामना गर्ने या कठोर निर्णय लिने संकेत समेत गरेका छन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस