मड्रिड डर्बीमा रियलको शान, एट्लेटिकोको अपराजित यात्रा टुङ्गियो - सिधा मिडिया


मड्रिड डर्बीमा रियलको शान, एट्लेटिकोको अपराजित यात्रा टुङ्गियो

सिधा मिडिया संवाददाता
    २८ मंसिर २०७७, आईतवार ०९:३३  मा प्रकाशित
236 जनाले पढ़िसके

प्रतिक्रिया



    काठमाडौं । स्पानिस ला लिगा अनतर्गत मड्रिड डर्बीमा रियलले एट्लेटिकोलाई २-० ले पराजित गरेको छ । डर्बीमा हारपछि एट्लेटिकोको यस सिजन लिगमा अपराजित यात्रा समेत टुङ्गिएको छ ।

    घरेलु मैदानमा रियलले दुवै हाफमा एक एक गोल गरेको थियो । १५औं मिनेटमा कासेमिरोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

    दोस्रो हाफमा भने रियलले गोल उपहार पायो । ६३औं मिनेटमा रिलका डानी कर्भाजलले पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार पोष्टमा लाग्दै एट्लेटिकोका गोलकिपर जान अब्लाकको ढाडमा लागेर गोल भएको हो ।

    जितपछि १२ खेलबाट २३ अंक जोड्दै रियल तेस्रो स्थानमा छ र शीर्ष स्थानको एट्लेटिको र दोस्रो स्थानको सोसिडाडसँग अंक दूरी घटाएको छ । हारपछि पनि एट्लेटिको २६ अंकसहित शीर्ष स्थानमै छ । यद्यपी एट्लेटिकोले एक खेल कम खेलेको छ । यस्तै १२ खेल खेलेको सोसिडाड २५ अंकसहित दोस्रो स्थानमा छ ।

    यस्तै अर्को खेलमा काडिजलाई १-० ले पराजित गर्दै सेभिया पाँचौ स्थानमा उक्लेको छ । ८१औं मिनेटमा काडिजका ज्याभिएर एट्जेइटाले गरेको आत्मघाती गोल नै सेभियालाई ३ अंक दिलाउन निर्णायक बन्यो । ११ खेलबाट सेभियाको १९ अंक छ । १२ खेलबाट १८ अंक रहेको काडिज छैटौं स्थानमा झरेको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस