नेपालले १२ मिलियन डोज कोरोना भ्याक्सिन पाउने, माघेसक्रान्तिमा सम्झौता हुन सक्ने - सिधा मिडिया


नेपालले १२ मिलियन डोज कोरोना भ्याक्सिन पाउने, माघेसक्रान्तिमा सम्झौता हुन सक्ने

सिधा मिडिया संवाददाता
    २७ पुष २०७७, सोमबार १६:४७  मा प्रकाशित
49 जनाले पढ़िसके

प्रतिक्रिया



    काठमाडौं। विश्वकै सबैभन्दा धेरै भ्याक्सिन उत्पादन गर्ने देश भारतले कोरोनाभाइरस विरुद्धको भ्याक्सिनको लागि नेपाललाई प्राथमिकतामा राखेको छ । भारतसँग कैयौं देशहरुले भ्याक्सिन आपूर्तिको लागि आग्रह गरेकोमा भारतले नेपालसहित केही छिमेकी देशहरुलाई प्राथमिकतामा राखिएको बताएको छ । इण्डिया टुडेले स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार भारतको प्राथमिकतामा नेपालसहित बंगलादेश, भुटान, श्रीलंका र अफगानिस्तान समेत छन् । भारतमा ‘कोभिशिल्ड’ र ‘कोभ्याक्सिन’ नामका २ भ्याक्सिनले आपतकालीन प्रयोगको स्वीकृति पाइसकेका छन् ।

    कोभिशिल्ड अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको भ्याक्सिन हो । यो भ्याक्सिन भारतमा सिरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरिरहेको छ । भारतको पुणेमा रहेको यो कम्पनी उत्पादन परिमाणको आधारमा विश्वकै सबैभन्दा ठूलो भ्याक्सिन उत्पादक हो । यस्तै कोभ्याक्सिन नामको भ्याक्सिन भारतमै विकास गरिएको हो । यो भ्याक्सिन भारत बायोटेकले इण्डियन इन्स्टिच्युट अफ मेडिकल रिसर्च (आइसएिमआर) को नेशनल इन्स्टिच्युट अफ भाइरोलोजीसँगको सहकार्यमा विकास गरेको हो ।

    शनिबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले आफूकहाँ उत्पादन र विकास भएका भ्याक्सिन मानवता बचाउनको लागि आवश्यक परेका ठाउँमा उपलब्ध गराउने बताएका छन् । शनिबार प्रवासी भारतीय दिवसलाई सम्बोधन गर्दै मोदीले भनेका थिए ‘भारतले पीपीइ किट, मास्क, भेन्टिलेटर र परीक्षण किट बाहिरबाट आयात गरेको थियो तर आज हाम्रो देश आत्मनिर्भर छ । आज भारत दुई ‘भारतमा निर्मित’ भ्याक्सिनमार्फत मानवता बचाउन तयार छ ।’

    भारतसँग कैयौं देशहरुले भ्याक्सिन माग गरेका छन् । भारतका छिमेकीहरुसहित ब्राजिल, मोरक्को, साउदी अरेबिया, म्यानमार, बंगलादेश, दक्षिण अफ्रिकाले आधिकारिक रुपमा भारतसँग भ्याक्सिन माग गरेका छन् । ‘भारत कोरोनाभाइरस महामारीविरुद्ध विश्वव्यापी लडाइँमा सुरुदेखि नै अग्रपंक्तिमा थियो र यस क्षेत्रमा उसले अन्तर्राष्ट्रिय सहकार्यको लागि अग्रसर छ । खासगरी आफ्ना छिमेकीहरुसँग जुन उसको कर्तव्य हो’ भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भनेका छन् ।

    इण्डिया टुडेका अनुसार नेपालले भारतसँग १२ मिलियन डोज भ्याक्सिन उपलब्ध गराउन आग्रह गरेको छ । रिपोर्टअनुसार भारतले नेपालले मागेजति नै भ्याक्सिन डोज आपूर्ति गर्ने सम्भावना छ । केही दिनअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काठमाडौंमा नेपाल र भारतले कोरोनाभाइरससम्बन्धी एक सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरिरहेको बताएका थिए । परराष्ट्रमन्त्री ज्ञवाली माघेसक्रान्तिका दिन भारत जाँदैछन् । उनको यो भ्रमणमा सम्झौता हुने सम्भावना छ ।

    रिपोर्टका अनुसार नेपालले भारतको सहयोगमा आफ्नो कूल जनसंख्याको २० प्रतिशतलाई भ्याक्सिन लगाउने योजना बनाएको छ । नेपालको कूल जनसंख्या ३ करोडको हाराहारीमा छ । यसको २० प्रतिशत ६० लाख हुन आउँछ । १ जनालाई २ डोज दिनुपर्ने भ्याक्सिन भारतले १२ मिलियन डोज उपलब्ध गराएमा यसले ६० लाख जनालाई भ्याक्सिनको पूरा डोज दिन पुग्छ । जोन हप्किन्स विश्वविद्यालयको सोमबार बिहानसम्मको रेकर्डअनुसार नेपालमा २ लाख ६४ हजार ७८० जना संक्रमित भइसकेका छन् र १९१७ जनाको ज्यान गइसकेको छ । – इण्डिया टुडेले स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस