शर्मिला गुरुङः पहिलो गीतबाटै हिट, दोहोरीदेखि कौडासम्म फिट - सिधा मिडिया


शर्मिला गुरुङः पहिलो गीतबाटै हिट, दोहोरीदेखि कौडासम्म फिट

सिधा मिडिया संवाददाता
    २९ पुष २०७७, बुधबार १८:१३  मा प्रकाशित
90 जनाले पढ़िसके

प्रतिक्रिया



    यदि कोरोना महामारी हुँदैनथ्यो भने गायिका शर्मिला गुरुङ यतिबेला पुतलीसडकमा नभेटिन सक्थिन् । सायद मेला–महोत्सवतिर दर्शक तताइरहेकी हुन्थिन् । कोरोनाले गर्दा उनलाई पहिलेजस्तो दौडादौड छैन ।

    यद्यपि, अहिले पनि उनी पुरै फुर्सदिलो भने छैनन् । यी लोकप्रिय दोहोरी गायिकाले गीत रेकर्डिङकै क्रममा ब्रेक लिएर कुराकानीको चाँजो मिलाएकी थिइन् । वार्तालापका क्रममा उनले आफ्नो सांगीतक संघर्ष र सफलता यात्राबारे सुनाइन् ।

    सरल स्वभावकी शर्मिलाको पहिरन पनि साधारण छ । आखिर उनी नेपालको ग्रामिण क्षेत्रमै जन्मेर हुर्केकी हुन् । त्यसैले उनको गीत–संगीतमा पनि छुट्टै मौलिकता पाइन्छ । लोक–संगीतको उर्वर भूमि मानिन्छ, स्याङ्जा । त्यही भूमिमा जन्मिइन्, हुर्किइन्द शर्मीला । उनमा बाल्यकालमा न लोकगीतप्रति उति रुचि थियो, न गीत नै गुन्गुनाउँथिन् । तर, विस्तारै उनी गीत–संगीतप्रति आकर्षित हुँदै गइन्, गीत गुन्गुनाउन थालिन् । त्यसको कारण थियो रेडियो नेपाल ।

    शर्मिला आफूमा गायनको विजारोपणबारे सुनाउँछिन्, –‘रेडियोमा लोकगायक नारायण रायमाझी दाई, गायिका बीमाकुमारी दुरा दिदी लगायतको गीत बज्थ्यो । उहाँका गीतहरुसुन्दा रमाईलो लाग्न थाल्यो । आफू पनि गुन्गुनाउने प्रयास गर्न थालेँ ।’

    त्यतिबेला अहिलेजस्तो रेडियो छ्यापछयाप्ती थिएनन्, टेलिभिजन गाउँमा विस्तार भईसकेको थिएन् । रेडियो नेपालको प्रभाव ज्यादा थियो । रेडियोमा बज्ने गीतले उनलाई गायनप्रति रुचि जगाईदियो ।

    बिस्तारै गाउँमा रोधी, अन्य पूजाआजा, मेलापात जाँदा गुन्गुनाउन थालिन् । दोहोरी प्रतियोगीतामा सहभागी हुन थालिन् । रेडियो नेपाल क्षेत्रीय प्रशारण पोखरामा हरेक बिहीबार सांगीतिक कार्यक्रम ‘देउराली’ प्रशारण हुन्थ्यो । जसको सञ्चालन लोकगायक पुरुषोत्तम न्यौपानेले गर्थे ।

    शर्मिला कार्यक्रमको नियमित स्रोता हुँदै रेडियोमा गीत गाउन पोखरा आउजाउ गर्न लागिन् । त्यतिबेलासम्म शर्मीलामा संगितको ‘रस’ पसिसकेको थियो । दोहोरी साँझमा काम गर्न पोखरामै बस्न थालिन्, त्यो पनि परिवारकै इच्छाविपरित ।
    ‘त्यो समयमा नाच्ने–गाउने कामलाई समाजमा नराम्रो नजरले हेरिन्थ्यो । त्यसमाथि छोरी मान्छे । परिवारको इृच्छा पनि छोरी गीतसंगीतमा लागोस् भन्ने थिएन् । तर, म परिवार, समाजको कुरालाई वास्ता नगरी पोखरा आएँ’– उनले सुनाईन् ।

    पहिलो गीत नै हिट

    पोखरामा दोहोरी साँझमा काम गर्दै थिइन् शर्मिला । उनको स्वरबाट पुरुषोत्तम न्यौपाने प्रभावित थिए । उनले आफ्नो एल्वममा शर्मिलालाई गाउने अवसर दिए । पुरुषोत्तमले काठमाडौं ल्याएर रेकर्ड गराए, ‘निलो पछ्यौरी’ । शर्मीलाको पहिलो गीत नै हिट भयो ।

    पहिलो गीतबाटै शर्मीला स्रोतामाझ चिनिइन् । त्यसपछि उनलाई रेकर्डिङका लागि अफरहरु आउन थाले । लाग्यो, काठमाडौं आउजाउ गरिरहनु भन्दा त्यतै बस्छु । उनले २०५६ सालमा स्वर परीक्षा पास गरिन् । २०५७ सालमा काठमाडौं आईन्, यतै बस्नेगरी । पुकार दोहोरी साँझमा काम पाइन् –तलब २५ सय रुपैया ।, बासको व्यवस्था पनि थियो । साथीहरु थिए, लक्ष्मी पुन, राजु परियार, बद्री पंगेनी । शर्मिला संघर्ष गर्दै गायनमा अगाडि बढ्दै गइन् ।

    रेकर्डिङका अवसरहरु आइरहे । अनि दोहोरी साँझ छाडेर रेकर्डिङमै ब्यस्त हुन थालिन् । उनले गाएका ‘मिर्मी मुनी काली थुनेको’, ‘बल्लै भो भेट’, ‘रानी घाटैमा’, ‘फूलको थुंगा’, ‘फर्क मुग्लानी’ लगायतका गीत हिट भए । शर्मिलाले वरिष्ठ लोकगायक नारायण रायमाझीसँग थुप्रै गीत गाइन् । ति गीतहरु पनि लोकप्रिय भए । आजसम्म उनले करिब ३५ सय गीतमा स्वर दिईसकेकी छिन् । उनका लोकदोहोरी मात्र होइन, सालैजो, कौडा गीतहरु पनि स्रोता, दर्शकले रुचाएका छन् ।

    ‘काठमाडौं आउँदा गीत–संगीतमा दर्शक–स्रोताले यतिसम्म माया गरिदिनुहुन्छ भन्ने लागेकै थिएन् । मलाई सबैले गीत गाउन दिनुहुन्छ भन्ने पनि थिएन । तर एकपछि अर्को गीत पाएँ । गीतलाई स्रोताले रुचाउँदै जानुभयो’ –शर्मीला आफ्नो यात्रा सम्झिदै भन्छिन् ।

    अडियो, क्यासेटको समयमा शर्मिलाका गीतले राम्रो ब्यापार गरे । त्यो समयको सांगीतिक व्यस्तताबारे थप्छिन् ‘दिनमै ७÷८ वटा गीतहरु पनि गाएकी छु ।’ बिस्तारै मेला महोत्सव हुन थाले । शर्मिला मेला÷महोत्सवमा छाउन थालिन् । जिल्ला–जिल्ला पुगेर गीत गाउन थालिन् । नेपालका अधिकांश जिल्लामा पुगेकी शर्मिला दुई दर्जनभन्दा बढी देशमा पुगेर प्रस्तुती दिएको शर्मीलाले बताईन् ।

    प्रविधिको विकाससँगै संगीत क्षेत्रमा धेरै परिवर्तनहरु भएका छन् । हिजो सांगीतिक क्षेत्रमा लाग्न त्यति सहज थिएन, जति अहिले छ । तर, हिजोजस्ता कालजयी गीत आज बिरलै आएका छन् । पुराना गीतहरु आज पनि स्रोता दर्शकको सम्झनामा छन् । तर आजका गीतहरु एकछिन आउँछन्, छोटो समयमै हराउँछन् । शर्मीला कहिलेकाहीँ सम्झिन्छिन् हिजो सांगीतिक क्षेत्रमा आउँदाका संघर्ष । अनि निष्कर्ष निकाल्छिन्, ‘सहज त अहिले नै छ तर गीत पुरानै राम्रा, सदावहार ।’

    कमाई अडियोको जमानामा राम्रै थियो । विस्तारै मेला–महोत्सव हुन थालेसँगै गायक–गायिकालाई झन राम्रो भएको शर्मींला बताउँछन् । विगतमा शर्मीला यतिबेला देशका मेला–महोत्सवमा ब्यस्त हुन्थिन् । तर, कोरोना महामारीका कारण स्टेज नचढेकै १ वर्ष पुगेछ ।

    भन्छिन्, –‘अहिले त लोक गायक गायिकाहरुलाई एकदमै गाह्रो छ, आम्दानी छैन् । निरन्तरताका लागि मात्र गीतहरु ल्याइरहनुभएको छ ।’उनलाई आशा छ, विस्तारै मेला–महोत्सव बौरिनेछन् । अनि स्टेज चढेर हजारौँ दर्शकमाझ गुन्गुनाउनेछिन, – बल्लै भो भेट…।

    शर्मीला अविवाहित हुन् । सांगीतिक क्षेत्रमा ब्यस्तताका कारण विवाहबारे सोँच्न नपाएको बताउँछिन् । भन्छिन्, ‘विवाह गर्नुपर्छ भन्ने हो । तर, विवाह गरिसकेपछि एउटा बन्धनमा बाँधिनुपर्छ । गीतसंगीतलाई कतिपयले स्वीकार्न नसकेको पाइन्छ । बिहे गरेर गयो भने हरेक कुराहरु बाँधिन्छ । शर्मीला गुरुङलाई भन्दा पनि शर्मीलाको कलालाई बुझ्न सक्ने मान्छे भयो भने बिहेको कुरामा सहमत नै छु ।’

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस