को हुन् ओलीलाई लात्ताले हानेर भाग्ने ‘केटो’ ! - सिधा मिडिया



को हुन् ओलीलाई लात्ताले हानेर भाग्ने ‘केटो’ !

सिधा मिडिया संवाददाता
    ४ माघ २०७७, आईतवार ०९:१०  मा प्रकाशित
104 जनाले पढ़िसके

प्रतिक्रिया




    काम चलाउ प्रधानमन्त्री केपी ओली भाषण गर्न माहिर नेता मानिन्छन् । ५ पुसमा प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरेपछि त उनका भाषण झन् बढी चोटिला, व्यंग्यात्मक, हास्यरसले भरिने गरेका छन् ।

    आफ्नै पार्टीका सहकर्मीमाथि उनी हरेक मञ्चमा राजनीतिक, अराजनीतिक निर्मम सबै हिसाबले खनिने गरेका छन् । नेताको लवजदेखि शारिरिक अवस्थासम्मलाई जोडेर हलमा ताली खाने गरी ओली भाषण गर्छन् ।

    यसै क्रममा शनिबार तीनकुनेमा भएको प्रदेश १ कार्यकर्ताको भेलामा पनि ओली आफ्ना पूर्व सहकर्मी प्रचण्ड, माधव नेपालविरुद्ध उसैगरी खनिए ।

    तत्कालीन माओवादीका नेताहरु मोहन वैद्य, डा. बाबुराम भट्टराई मात्रै होइन विप्लवसम्मको कुरा गर्न ओलीले भ्याए ।

    प्रदेश १ कै भेलाको सन्दर्भमा ओलीले एक यूवा नेता लक्षित टिप्पणी गरेका छन् । ओलीले भने, चुनाव जिताएँ, मन्त्री बनाएँ तर, ‘पुक्क लात्ताले हानेर भाग्यो’ भन्ने टिप्पणी गरे ।

    ‘म कुनै बैगुनी केटोकेटीकी कुरा गर्न चाहन्न । तर, हाम्रै प्रदेशमा पनि त्यस्तै देखिएका छन् । दौडि दौडिकन गएर भोट मागेर यो केटोलाई जिताइदिनुस् मन्त्री बनाएर पठाइदिन्छु भनेर मन्त्री पनि बनाइयो । गरियो गरियो एक दिन त पुक्क लात्ताले हानेर भाग्यो । को भनेर हेर्दा त उही केटो । हामी यस्तोमा अल्झिदिनौं । युवाको कमी छैन । अरु युवालाई समेटेर अगाडि बढ्छौं ।’
    भ्रममा परेकालाई पनि समेटेर अगाडि बढ्ने जिकिर ओलीले गरे ।

    लात्ताले हानेर भागेकाे भनेका नेता सम्भवत: योगेश भट्टराई हुन् । २०७४ सालमा भएको चुनावमा ताप्लेजुङमा योगेशलाई भोट माग्न ओली पनि पुगेका थिए । ओलीले ताप्लेजुङको सदरमुकाम फुङलिङमा भएको चुनावी सभालाई सम्बोधन गरेका थिए । पछि ओली सरकारका पर्यटन मन्त्री रविन्द्र अधिकारीको निधनपछि योगेश भट्टराई मन्त्री पनि भएका थिए ।

    तर, ५ पुसमा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि असहमति जनाउँदै भट्टराईले मन्त्रीबाट राजीनामा दिएका थिए ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस