निफ्राको आईपीओ बाँडफाँडः १० देखि ५० कित्ता सबैको भागमा, झण्डै ५ लाखले पाए ६० कित्ता ? - सिधा मिडिया

निफ्राको आईपीओ बाँडफाँडः १० देखि ५० कित्ता सबैको भागमा, झण्डै ५ लाखले पाए ६० कित्ता ?

    १६ माघ २०७७, शुक्रबार १२:१२  मा प्रकाशित
756 जनाले पढ़िसके




नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले निष्काशन गरेको आईपीओको आज शुक्रबार (माघ १६ गते) बाँडफाँड भएको छ ।

निफ्राको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकको जिम्मेवारी पाएको एनआइबीएल एस क्यापिटलले १४ लाख ७५ हजार ८० वटा योग्य आवेदन परेको जनाएको छ । क्यापिटलका अनुसार योग्य आवेदकहरु सबैले सेयर हात पारेका छन् । ६ हजारभन्दा धेरैको आईपीओ आवेदन भने रद्द भएको छ ।

बिक्री प्रबन्धक क्यापिटलका अनुसार पहिलो चरणमा रितपूर्वक आवेदन दिने सबैले बैंकको न्युनतम १० कित्तादेखि अधिकतम ५० कित्ता सेयर पाएका छन् । १० कित्ताभन्दा बढी र ५० कित्तासम्म रितपूर्वक आवेदन दिएका सबैले आफुले माग गरेजति नै सेयर हात पारेका छन् ।

आईपीओमा आवेदन दिएका मध्ये कूल १४ लाख ७५ हजार ८ जनाको आवेदन रितपूर्वक रहेका छन् भने ६ हजार २७६ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

त्यस्तै, पहिलो चरणमा बाँडफाँड गरेर बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता सेयर दोस्रो चरण अर्थात गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । ६० कित्ता वा सो भन्दा बढी माग गर्ने कूल ११ लाख ९४ हजार ४ जना आवेदकलाई गोलाप्रथामा समावेश गरिएको थियो । जसमध्ये भाग्यमानी ४ लाख ९२ हजार ७२ जनाले मात्रै बैंकको थप १० कित्ता गरी अधिकतम ६० कित्ता सेयर हात पारेका छन् भने बाँकीले बैंकको अधिकतम ५० कित्ता सेयर पाएका छन् ।

आईपीओमा मागभन्दा २.३९ गुणा बढी आवेदन परेको थियो । आईपीओमा १५ लाख २९ हजार ४६० जना आवेदकले १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँको १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताको लागि आवेदन दिएका थिए ।

बैंकले गत माघ २ गतेदेखि माघ ६ गतेसम्म प्रतिकित्ता एक सय रुपैयाँ दरको ८ करोड कित्ता सेयर अर्थात कूल ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको थियो ।

यसअघि नेपाली पुँजीबजारमा कुनै पनि कम्पनीले यति ठूलो आकारको सेयर जारी गरेका थिएनन् । यति ठूलो मात्रामा सेयर जारी गर्ने बैंक नै पहिलो कम्पनी हो ।

१२ अर्ब रुपैयाँ रहेको बैंकको चुक्ता पुँजी आईपीओ बाँडफाँड पछि २० अर्ब रुपैयाँ पुगेको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस