आज ‘श्रीपञ्चमी’ , विद्याकी देवी सरस्वतीको पूजा–आराधना गरी मनाइँदै (यसरि गर्नुहोस पुजा) - सिधा मिडिया



आज ‘श्रीपञ्चमी’ , विद्याकी देवी सरस्वतीको पूजा–आराधना गरी मनाइँदै (यसरि गर्नुहोस पुजा)

सिधा मिडिया संवाददाता
    ४ फाल्गुन २०७७, मंगलवार ०८:३७  मा प्रकाशित
84 जनाले पढ़िसके

प्रतिक्रिया




    काठमाडौँ । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् ।

    सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् । सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ ।वसन्त पञ्चमीको दिन विधिविधानका साथ देवी सरस्वतीको पूजा गर्दा विद्या र बुद्धिका साथसाथै सफलता पनि पाइने विश्वास गरिन्छ ।विहानै उठेर स्नान गरेपछि पवित्र आचरण र बोलीको संकल्प लिँदै माता सरस्वतीको पूजा गर्नुपर्छ । पूजामा चन्दन, अक्षता, सेतो र पहेंलो फूल, सेतो चन्दन र सेतो वस्त्र देवीलाई चढाउँनुपर्छ ।

    प्रसादमा पहेँलो चामल, खीर, दूध, दही, मक्खन, सेतो तिलको लड्डु, घिउ, नरिवल, सक्खर र मौसम अनुसारको फल चढाउँनु पर्छ ।त्यसपछि माता सरस्वतीसँग बुद्धि र सफलताको कामना गरेर दीप प्रज्वलन गर्दै आरती गर्नुपर्छ । पढाइमा मन नलाग्ने विद्यार्थीहरूले देवी सरस्वतीको नित्य पूजन गरेमा पढाईमा मन लाग्छ । देवीको प्रतिमाअगाडि उभिएर मन्त्रहरु उच्चारण गर्दा स्मरण शक्ति बढ्छ ।यो हो सरस्वती स्तुति: या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता । या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।।या ब्रह्माच्युतशंकरप्रभृतिभिर्देवैस् सदा वन्दिता । सा मां पातु सरस्वती भगवती निस्शेषजाड्यापहा ।।१।।

    शुक्लां ब्रह्मविचारसारपरमाद्यां जगद्व्यापिनीं , वीणा पुस्तक धारिणीमभयदां जाड्यांधकारपहाम्। हस्ते स्फाटिकमालिकां विदधतीं पद्मासने संस्थितां, वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम्।।२।। ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ ।

    यस वर्ष भने शुक्र अस्त भएकाले विवाह, व्रतबन्ध जस्ता कर्म यस पर्वमा गरिँदैन । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ ।उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारा स्थित नीलसरस्वती, ललितपुरको लेले लगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ ।सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ । यस अवसरमा हनुमानढोका दरबारमा वसन्त श्रवण गरिन्छ ।

    वसन्त श्रवणमा राजतन्त्र हुञ्जेल राजा जाने गरेकोमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राष्ट्राध्यक्षका नाताले राष्ट्रपतिको उपस्थिति हुन थालेको छ ।नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुसार बिहान १०ः१७ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको छ । वसन्त श्रवणमा राष्ट्रपति विद्यादेवी भण्डारी पनि सहभागी हुने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस