वडा अध्यक्षले राहतको चामल लुकाएको आशंका, ४५० बोरा भेटिएपछि गोदाम सिल - सिधा मिडिया



वडा अध्यक्षले राहतको चामल लुकाएको आशंका, ४५० बोरा भेटिएपछि गोदाम सिल

सिधा मिडिया संवाददाता
    ८ फाल्गुन २०७७, शनिबार २०:०२  मा प्रकाशित
112 जनाले पढ़िसके

प्रतिक्रिया




    इनरुवा, ८ फागुन । सुनसरीको इनरुवामा राहत लुकाएको आशंकामा वडा अध्यक्षले घर भाडा लिई संचालनमा ल्याएको गोदाम प्रशासनले सिल गरेको छ । उजुरीपश्चात छानविनको क्रममा टोलीले ४५० बोरा चामल फेला पारेपछि सो गोदाम सिल गरेको सुनसरी प्रशासनले जनाएको छ ।

    सिल गरिएको गोदाम घर महेन्द्रचोकका युवराज दाहालको भएको खुलेको छ । प्रशासनले दाहालको घर भोक्राहा नरसिंह गाउँपालिकाका वडा अध्यक्ष हारुन अन्सारी र हातिम अन्सारीले भाडामा लिएको खुलेको जनाएको छ ।

    भोक्राहाकै स्थानीयको उजुरीका आधारमा प्रशासनले छानविन थालेको जनाएको छ । सुनसरी प्रशासनका अनुसार कोरोना महामारीका बिच घोषित लक डाउनको क्रममा विपन्नलाई वितरण नगरी वडा नम्बर ४ का अध्यक्ष हारुन अन्सारी र वडा नम्बर ८ का अध्यक्ष हातिम अन्सारीले चामक लुकाएर राखेको दावी सहितको उजुरी परेको छ । उनीहरुले साबुन समेत लुकाएर राखेको सूचना प्रशासनलाई दिएको बुझिएको छ ।

    सुनसरीका प्रमुख जिल्ल अधिकारी फणिन्द्रमणि प्रजिअ पोखरेलले फेला परेको उक्त परिमाणको चामल कसले कुन प्रयोजनको लागि राखेको हो भन्ने विषयमा छानविन थालिएको बताए ।

    सुनसरी प्रशासनले सो सम्वन्धमा परेको उजुरी, प्राप्त सुचना र फेला परेको गोदामको विषय केन्द्रीत रहि भोक्राहा नरसिंह गाउँपालिकाको कार्यालय समक्ष विस्तृत जानकारी खुलाई लिखित जवाफ पठाउन पत्र काटिएको जनाएको छ ।

    प्रजिअ पोखरेलले गाउँपालिकाबाट प्राप्त जवाफ सँगै आवश्यक्ता अनुरुप उजुरी परेका वडा अध्यक्षमाथि समेत सोधपुछ गरिने बताए । उनले घरधनी सँग समेत सोधपुछ गरिएको बताए । प्रशासनबाट प्राप्त जानकारी अनुसार घरधनीले आफ्नो घरको तल्लो फ्लाइटमा कात्तिक महिना देखिनै चामल भण्डारण गरेर राखिएको बताएका छन् ।

    घरधनीलाई उद्धृत गर्दै प्रशासनले दिएको जानकारी अनुसार वडाअध्यक्ष हारुन र हातिम अन्सारीले ८ हजार भाडा तिर्दै आएका छन् । घरधनी दाहालका अनुसार आफुले भाडामा लगाएको तल्लो फ्लाइटका कोठामा २५ केजी दरका ४ सय ५० बोरा रहेको बताए । उनले भाडा लिनेले व्यक्तिगत प्रयोजनको चामल भनेर राखेको जानकारी दिएका छन् ।

    उता आरोप लागेका वडा अध्यक्षमध्येको हारुन अन्सारीले चामल व्यक्तिगत र ब्यापारिक प्रयोजनको लागि भण्डारण गरिएको बताएका छन् । उनीले चामल खरीदको विल समेत सुरक्षित रहेको बताए ।

    भोक्राहाका उजुरकर्ता स्थानीयले भने स्वयं जनप्रतिनिधिले लक डाउनको समयमा गरिब र विपन्नलाई वितरण गर्न गाउँपालिकाले खरीद गरेको र अनुदानमा प्राप्त चामल वडा अध्यक्षले लुकाएर राखेको दावी गरेका छन् ।

    व्यक्तिगत र ब्यापारिक प्रयोजनकाले लागि लामो समयदेखि चामल भण्डारण कोही कसैले नगर्ने भन्दै उजुरकर्ता सहित स्थानीयहरु सो चामल वडाअध्यक्षले नै लुकाएको दावी गर्छन् । उनीहरुले लुकाएर राखेको चामल सहजै विक्रि गर्न सम्भव नहुँदा लामो समययता गोदाममा थन्किएर रहेको बताउँछन् ।

    भोक्राहामा यस अघि समेत पटक पटक राहतको विषयमा विवाद र हिनामिनाको घटना बाहिरिएका थिए ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस