बागमती प्रदेश : बादल हराउन भूमिका खेल्ने एमालेका १४ सांसदमाथि कारवाही शुरु (नामसहित) - सिधा मिडिया

बागमती प्रदेश : बादल हराउन भूमिका खेल्ने एमालेका १४ सांसदमाथि कारवाही शुरु (नामसहित)

    ८ जेष्ठ २०७८, शनिबार २२:४५  मा प्रकाशित
405 जनाले पढ़िसके




काठमाडौं । नेकपा एमालेले वागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवार रामवहादुर थापालाई पराजित गर्न सक्रिय भूमिका खेलेको भन्दै १४ जना प्रदेश सांसदलाई कारवाही अघि बढाएको छ ।

शनिबार बसेको बागमती प्रदेश संसदीय बोर्डको बैठकले पार्टी निर्देशन विपरीत कार्य गरेको भन्दै एमालेको माधव नेपाल समूहका १४ जना सांसदलाई स्पष्टीकरण सोधिएको एमाले बागमती प्रदेशका मुख्य सचेतक दिपक निरौलाले जानकारी दिए । एमालेले बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा रामबहादुर थापा बादललाई उम्मेदवार बनाएको थियो ।

नेपाल पक्षका अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल, रचना खड्का, कुसुमकुमार कार्की, बसुन्धरा हुमागाईं, मुनु सिग्देल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, बसन्तप्रसाद मानन्धर, शान्तिराम पौडेल, मिना ज्ञवाली, पार्वती सिलवाल र लक्ष्मण लम्साललाई स्पष्टिकरण सोधिएको सचेतक निरौलाले जानकारी दिए । उनीहरूलाई आइतबार साँझ ५ बजेसम्ममा जवाफ दिन समय दिइएको उनले बताए ।

एमालेकै नेपाल पक्षले डा. खिमलाल देवकोटालाई नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको समर्थनमा उम्मेदवार बनाएको थियो । राष्ट्रियसभाको उपनिर्वाचनमा थापालाई भोट हाल्न एमालेले ह्वीप लगाएको थियो ।

ह्वीप उल्लंघन गर्दै स्वतन्त्र उम्मेदवार देवकोटालाई भोट दिएर बादल हराएको भन्दै बोर्ड बैठकले स्पष्टीकरण सोधेको हो । बैठकमा कोभिड नियन्त्रणमा प्रदेशले गरेको कामको समेत समीक्षा गरिएको जनाईएको छ ।

राष्ट्रिय सभा निर्वाचनमा सत्तारूढ एमालेका आधिकारिक उम्मेदवार थापालाई स्वतन्त्र उम्मेदवार देवकोटाले पराजित गरेका थिए । प्रदेशतर्फ थापाले ४५ मत प्राप्त गर्दा देवकोटाले ५८ मत प्राप्त गरेका थिए । एमालेको प्रदेशसभामा ५६ मत छ । नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले दुई मत प्राप्त गरेका थिए ।

स्थानीय तहतर्फ देवकोटाले २ सय ३३ मत खसेकोमा १ सय २८ मत प्राप्त गरेका थिए । थापाले १ सय ३ मत प्राप्त गर्दा नेमकिपाका उम्मेदवार तामाङले दुई मत प्राप्त गरेका थिए । देवकोटाले स्वतन्त्र रूपमा उम्मेदवारी दिए पनि नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमाले नेपाल–खनाल समूहको समर्थन रहेको थियो ।

 

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस