सस्तो मूल्यमा गाउँगाउँसम्म हाई स्पिड इन्टरनेट पुर्‍याउने चौधरी ग्रुपको घोषणा - सिधा मिडिया



सस्तो मूल्यमा गाउँगाउँसम्म हाई स्पिड इन्टरनेट पुर्‍याउने चौधरी ग्रुपको घोषणा

    ९ जेष्ठ २०७८, आईतवार १५:५८  मा प्रकाशित
125 जनाले पढ़िसके

प्रतिक्रिया


    काठमाडौं । चौधरी ग्रुपले देशका ग्रामीण क्षेत्रसम्म हाई स्पिड इन्टरनेट सेवा पुर्‍याउने घोषणा गरेको छ । टेकपानाले शनिबार आयोजना गरेको दूरसञ्चार नीतिगत बहस श्रृङ्खलाको कार्यक्रममा बोल्दै सीजी टेलिकमका प्रबन्ध निर्देशक निर्वाण चौधरीले निकट भविष्यमा सेवा सुरु गरे देशभर विस्तार गर्ने जानकारी दिएका हुन् ।

    ‘हामीलाई टेलिकम क्षेत्रमा आउन नदिए पनि एफटीटीएच तथा इन्टरनेट सेवाप्रदायकको रुपमा काम गर्ने लाइसेन्स हामीसँग छ । त्यसैले नै निकट भविष्यमा हामी सीजी नेट सुरु गर्दैछौं,’ उनले भने, ‘त्यसका लागि अहिले हाम्रो ब्याकबोन पूर्वाधार पनि तयार भइरहेको छ । त्यसबाट घरघरमा हामी एफटीटीएच सेवा उपलब्ध गराउने छौं ।’

    आफ्नो इन्टरनेट सेवा उदाहरणीय हुने दाबी समेत चौधरीले गरेका छन् । ‘त्यहिँबाट हेर्न सक्नुहुनेछ कि हामी कसरी विश्वस्तरीय सेवा नेपालमा दिनसक्छौं,’ उनले भने, ‘त्यो निकै सस्तो पनि हुनेछ । जति जे गफ दिए पनि वास्तविक स्वाद काममै निर्भर हुन्छ ।’

    अरु टेलिकम कम्पनीले लाइसेन्स पाएर पनि काम गर्न नसकेको भन्दै उनले निश्चित शर्त तोकेर आफूहरुलाई हामीलाई लाइसेन्स दिए दूरसञ्चार क्षेत्रमा देखिएको मोनोपोली तथा डुओपोलीको अवस्थालाई भत्काउने बताए । ‘हामीलाई लाइसेन्स दिनुहोस्, हामी गरेर देखाउँछौं,’ उनले भने ।

    ‘अहिले इन्टरनेट सेवाप्रदायकहरुको मूल्य निकै धेरै छ । त्यसैले नै त्यसको पेनिट्रेसन निकै कम देखिन्छ । हामी त्यस किसिमको ग्यापलाई पुरा गर्नका लागि इन्टरनेट सेवाप्रदायक सार्वजनिक गर्दैछौं,’ प्रबन्ध निर्देशक चौधरीले भने, ‘हामीले दिने इन्टरनेट अहिलेभन्दा आधाजसो सस्तो हुनेछ ।’

    नेपालभर गाउँ गाउँमा अनि घरघरमा हामी यो सेवा पुर्‍याउने सुनिश्चितता दिलाउन चाहेको उल्लेख गर्दै चौधरीले चर्को प्रतिस्पर्धाबीच नयाँ प्रविधिको स्वाद नेपाली जनतालाई दिन चाहेको बताए । उनले अगाडि भने, ‘यदि हामी डिजिटल अर्थतन्त्र चाहन्छौं र वास्तवमै आर्थिक विकास खोजिरहेका छौं भने त्यसका लागि डिजिटल पूर्वाधार र सेवाको मूल्यको भूमिका निकै धेरै महत्वपूर्ण हुन्छ ।’- टेकपाना

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस