के नेपाल ‘बनना रिपब्लिक’ हुँदैछ ? - सिधा मिडिया



के नेपाल ‘बनना रिपब्लिक’ हुँदैछ ?

    ११ जेष्ठ २०७८, मंगलवार १४:५५  मा प्रकाशित
132 जनाले पढ़िसके

प्रतिक्रिया


    काठमाडौ !

    आर्थिक, राजनीतिक र सामाजिक बहसमा बारम्बार आउने शब्द हो ‘बनना रिपब्लिक’ अर्थात् ‘केरा गणतन्त्र’ । यो नामको संसारमा कुनै राज्य छैन तर पनि यसको बारेमा बेला–बेलामा बहस हुने गर्दछ ।

    सन् १९०४ मा अमेरिकी विद्वान् ओ हेनरीले ‘क्यावेजेज एण्ड किङ्ग्स’ नामक आफ्नो पुस्तकमा पहिलो पटक यो शब्दको प्रयोग गरेका थिए ।

    मध्य अमेरिकी देशहरूमा बस्दा त्यहाँका मुलुकहरूको अध्ययन गर्ने क्रममा उनले होण्डुरसलाई ‘केरा गणतन्त्र’ को संज्ञा दिएका थिए । यसै सन्दर्भबाट ‘बनना रिपब्लिक’ शब्दको प्रयोग आर्थिक तथा राजनीतिक क्षेत्रमा हुन थाल्यो ।

    होण्डुरस एउटा यस्तो मुलुक हो जहाँ अर्थतन्त्र सञ्चालनका लागि उत्पादन तथा निर्यात गर्ने वस्तु तथा सेवा अत्यन्तै न्यून छ । यस देशमा मूलतः चाँदी र केरा प्रमुख निर्यातका वस्तु हुन् ।

    सन् १९७० को दशकमा होण्डुरसले आफ्नो अर्थ–व्यवस्था अत्यन्तै कमजोर भएपछि सोको उत्थानका लागि चाँदीको उत्पादन र बजारीकरण गर्न विदेशी लगानीकर्तालाई आह्वान गर्‍यो ।

    उसले लगानीका लागि विदेशी कम्पनी तथा लगानीकर्तालाई अनुमति दियो र अर्थतन्त्र सुधार्ने जमर्को गर्‍यो । तर, विश्वबजारमा चाँदीको मूल्यमा आएको गिरावटले पुनः अर्थतन्त्रमा संकट सिर्जना भयो । त्यस पश्चात् उक्त मुलुकले अर्थतन्त्र उकास्ने दोस्रो साधनका रूपमा केराको उत्पादन र निर्यात गर्ने संकल्प गर्‍यो । केराको उत्पादन र निर्यातका लागि लगानी गर्न सक्ने अवस्था उससँग नभएकोले पुनः विदेशी लगानी भित्र्याउन विदेशी कम्पनी तथा लगानीकर्तालाई आह्वान गर्‍यो ।

    यसका लागि अमेरिकी ‘फ्रुट्स’ कम्पनीहरू अग्रसर भए । उनीहरूले विस्तारै होण्डुरसको केरा बजारलाई कब्जामा लिए । जसको परिणामस्वरुप त्यहाँको अर्थ, राजनीतिक र सामाजिक व्यवस्था समेत प्रभावित भयो । जसका कारण आजसम्म पनि उक्त मुलुक आर्थिक, राजनीतिक रूपमा माथि उठ्न सकिरहेको छैन ।

    विश्वव्यापीकरणको लहरसँगै विश्वका ठूला राष्ट्र र लगानीकर्ताले कमजोर मुलुकको अर्थव्यवस्था र राजनीतिक प्रणाली प्रभावित पार्दै गएका छन् । त्यसैले आजको सन्दर्भमा होण्डुरस जस्तै कमजोर अर्थव्यवस्था भएका मुलुकमा हुने वैदेशिक हस्तक्षेपको उत्कर्ष अवस्थामा नव–उपनिवेशको एक स्वरुपमा ‘बनना रिपब्लिक’ लाई लिइन्छ ।

    जुन मुलुकको उत्पादन र निर्यातका साधन अत्यन्तै न्यून हुन्छन्, तिनको उत्पादन, वितरणमा विदेशी लगानीकर्ताले पूर्ण नियन्त्रण गर्न प्रयत्न गरिरहन्छन् र अन्ततः समग्र आर्थिक तथा राजनीतिक व्यवस्था कब्जा गर्छन् भन्ने दृष्टिकोण हो ‘बनना रिपब्लिक’ ।

    यसले भ्रष्ट, अहंकारी शासकहरू रहेको मुलुकमा त्यस्ता शासकले भ्रष्टाचारको प्रवर्द्धनमा आनन्द मान्दछन् । जसका कारण त्यस्ता शासकको अन्तरनिहित स्वार्थ पूरा हुने र राज्यको भविष्य थप दयनीय र जटिलतातर्फ अगाडि बढ्ने हुन्छ । परिणामस्वरुप मुलुक विदेशी चंगुलमा फस्दै जाने र मुलुकको अर्थतन्त्र, शासन व्यवस्था, राजनीतिक प्रणालीमा वैदेशिक हस्तक्षेप बढ्दै जाने र अन्ततः मुलुक वैदेशिक नियन्त्रणमा जान्छ भन्ने मान्यता यसले राख्दछ ।

    नेपालको सन्दर्भलाई हेर्दा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र तथा अन्य दलको सरकार बन्दा समेत सरकारको मूलध्येय मुलुकको आत्मनिर्भर अर्थव्यवस्था निर्माण, भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन र कानूनी शासनको सुदृढीकरणमा ठोस योजना तथा नीति लिएको देखिएन । सरकार निर्माणका हरेक शृंखलामा विदेशी शक्तिको आडभरोसा र आशीर्वादको याचना कहिले प्रत्यक्ष त कहिले परोक्ष रूपमा गरेको देखियो ।

    संघीय लोकतान्त्रिक गणतन्त्र आएसँगै सुधारको अपेक्षा गरिए पनि दलहरूमा अन्तरनिहित पदलोलुपता र दलीय तथा व्यक्तिगत स्वार्थ किञ्चित पनि सुधार भएको पाइएन । बरु झनै बढेर गएको देखिन्छ । पछिल्लो समयमा कोरोना महामारीबाट मुलुक आक्रान्त हँुदा समेत सरकार र राजनीतिक दलहरू सत्ताको लुछाचुँडीमा मग्न छन् ।

    दलहरूभित्रका गतिविधि समेतमा विदेशी चलखेलको गन्ध पाइन्छ । वैदेशिक सहयोग तथा लगानीका नाममा मुलुक विदेशीको क्रीडास्थलको रूपमा रूपान्तरित हुँदै गएको आभास हुन्छ । सरकारका गतिविधिमा भ्रष्टाचार र अनैतिकता एवं गैरजिम्मेवारपूर्ण अभिव्यक्ति र व्यवहार दोहोरिंदै गएका छन् ।

    यति मात्रै होइन गल्तीबाट सिक्ने भन्दा पनि व्यक्तिगत र दलीय स्वार्थका लागि पटक–पटक संवैधानिक सर्वोच्चता माथि प्रहार हुनु र जनता अभिभावकविहीन भएको अवस्था आउनुले मुलुकको अर्थ–व्यवस्था र राजनीतिक प्रणालीमा वैदेशिक हस्तक्षेपलाई निरन्तर निम्तो दिइरहेको देखिन्छ ।

    यस्तै विदेशी शक्तिकेन्द्रहरूबाट पनि सरकारको निर्माण, टिकाउ र परिवर्तनमा प्रत्यक्ष–परोक्ष रूपमा गतिविधिहरू बढाउँदै जानु र किञ्चित पनि कूटनीतिक मर्यादाको पालना नहुनुले नेपाल ‘बनना रिपब्लिक’ मा रूपान्तरण त भएको होइन भन्ने प्रश्न उठेको छ ।

    दलहरूले आफ्नो आन्तरिक लोकतन्त्रको अभ्यास, असल राजनीतिक संस्कारको विकाससँगै आत्मनिर्भर अर्थतन्त्र र संवैधानिक मर्यादाको पालनामा बेलैमा सचेत नभए स्थिति अझ गम्भीर हुनेछ ।

    त्यसैगरी नागरिक समाजले आफूलाई मौसमी रूपमा मात्रै र निहित स्वार्थमा केन्द्रित नभई जनसरोकारका सवालमा निस्वार्थ आवाज बुलन्द गर्ने भरपर्दो संयन्त्रका रूपमा विकास गर्न नसके, नागरिकहरू आफ्नो तर्फबाट बेलैमा निर्णायक रूपमा खबरदारी गर्न नलाग्ने हो भने मुलुक ‘बनना रिपब्लिक’ बन्न सक्ने दुर्घटनाबाट रोक्न सकिँदैन ।

    ( अनलाइन खवर / आशिष भुर्तेल कानून तथा राजनीतिशास्त्रका विद्यार्थी हुन् ।)

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस