केन्द्रिय राजनीतिको तरङ्ग प्रदेश २ मा, सरकार पुन: गठन हुने संभावना - सिधा मिडिया

केन्द्रिय राजनीतिको तरङ्ग प्रदेश २ मा, सरकार पुन: गठन हुने संभावना

    २२ जेष्ठ २०७८, शनिबार १९:४०  मा प्रकाशित
239 जनाले पढ़िसके




काठमाडौं । संघीय सरकारमा जनता समाजवादी पार्टी (जसपा) का केन्द्रिय अध्यक्ष महन्थ ठाकुर समूह सहभागी भएसँगै प्रदेश नम्बर २ को सरकार फेरबदल हुने चर्चा सुरु भएको छ ।

प्रदेश सरकार परिवर्तन वा पुनःगठन हुने चर्चा यतिबेला भइरहेको छ । जब जनकपुरधाममा जसपा नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव सक्रिय भए । त्यसपाछि यो चर्चा चुलिदो छ । केन्द्रिय अध्यक्ष महन्थ ठाकुर समूहको अगुवाई गर्दै वरिष्ठ नेता राजेन्द्र महतो उपप्रधानमन्त्री सहितका सरकारमा सहभागी भएपछि प्रदेश नम्बर २ मा प्रत्यक्ष असर परेको हो ।

जसपा भित्रमा प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगामी रहेको भन्दै अर्का केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको अगुवाईमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्षहरु संयूक्तरुपमा विरोधमा छन् । यस्तो बेलामा जसपाको एक हिस्सा ओली सरकारमा गएपछि नेता तथा कार्यकर्ताहरु वीच तिव्र धु्रवीकरण हुदैँ गएको छ ।

तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालको एकीकरण पछि जनता समाजवादी पार्टी गठन भएको थियो । जसपाको बहुमतीय प्रदेश सरकार रहेपनि संघीय राजनीतिक घटनाक्रम अनुसार यहाँ त्यसको असर परेको छ । जसले गर्दा जसपा दुई कित्तामा विभाजित भएको छ ।

ओलीको सरकारमा महन्थ ठाकुर पक्ष सहभागी भएसंगै प्रदेश नम्बर २ मा समेत प्रदेश सरकार पुनःगठनको तयारीमा जसपाका अर्का अध्यक्ष उपेन्द यादव लागि परेका छन् । तर त्यसको लागि भने केहि समय लाग्ने भएको छ ।

जसपा केन्द्रिय कार्यकारिणी समितिमा उपेन्द्र यादव पक्षको स्पष्ट बहुमत रहेकाले जसपाका आधिकारिकता उनैले पाउने उपेन्द्र पक्षको दावी भएकाले जसपाले प्रदेश नम्बर २ मा सरकार पुनःगठन गर्ने छन् । यसका लागि यस प्रदेशमा महन्थ पक्षलाई सरकारबाट हटाएर नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई सरकारमा ल्याउने समीकरण बनाउन अध्यक्ष उपेन्द्र यादव समेत सक्रिय छन् ।

तर भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र कुमार साहले अहिले सरकार पुनःगठन भन्दा बढी नीति तथा कार्यक्रम तर्फ हामी केन्द्रित रहेको जनाए । उनका अनुसार यही २४ गते नीति तथा कार्यक्रम प्रदेशसभामा पेस हुने भएकाले यसैै सेरोफेरोमा प्रदेश सरकार केन्द्रित रहेको स्पष्ट पारे ।

उनले तत्कालै सरकार पुनः गठन नहुने दावी समेत गरे । उनले जसपाको बहुमत कार्यकारिणी सदस्य हामीसंग रहेकाले पार्टीको निर्णय नमान्नेलाई कारवाही गर्ने चेतावनी समेत दिए ।

तर अध्यक्ष उपेन्द्र यादवको जनकपुरधाम आगमनले भने राजनीतिक घटनाक्रमलाई प्रदेश सरकार परिवर्तनसंग मोडिएको छ । मन्त्री साहले भने– विगत झैँ अध्यक्षज्यू यस वर्ष पनि प्रदेश सरकारले ल्याउनका लागि नीति तथा कार्यक्रम एवं बजेटसंगको विषयमा सरकारलाई सल्लाह तथा सुझावका लागि वहाँलाई विशेषज्ञको रुपमा आमन्त्रित गरिएको हो ।

अध्यक्ष उपेन्द्र यादवले काठमाडौँमा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिसँग भेटेर आएका हुनाले प्रदेश सरकार परिवर्तन हुने सम्भावना बढिरहेको अवस्थामा उनले स्पष्ट समेत पारेका छन् । प्रदेश २ मा सरकार परिवर्तन भएपनि लालबाबु राउत नै मुख्यमन्त्री रहने पुन: गठन हुने उनको दावी छ ।

तर नेकपा एमालेको माधव नेपाल पक्ष सरकारमा भने जाने छैनन् । एमालेका संसदीय दलका नेता सत्रुधन महतोले प्रदेश सरकार पुनःगठन भएपनि तत्काल एमाले सरकारमा नजाने संकेत गरेका छन् । संसदीय दलका नेता महतोले सत्ता समिकरण अनुसार एमालेले आफ्नो भुमिका तय गर्ने स्पष्ट पारे ।

जसपाको उपेन्द्र पक्षले सत्ता टिकाउनका लागि कांग्रेस र माओवादीलाई सत्ता समीकरण मिलाएर जोड्दा पूर्ण बहुमतको सरकार बन्नेछ । अहिले प्रदेश नम्बर २ मा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनाल सहति २ जना राज्यमन्त्री महन्थ समुहमा रहेको स्पष्ट छ । यदी जसपाले स्पष्टरुपमा गठबन्धन अनुसार सरकार पुनःगठन गर्यो भने महन्थ समूहकालाई हटाएर मुख्यमन्त्री लालबाबु राउतको अगुवाईमै मन्त्रीपरिषद् विस्तार हुने नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले बताए ।

भौतिक पूर्वाधार विकास मन्त्रालय, समाजिक विकास मन्त्रालय र उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालय र ३ राज्यमन्त्री सहित ६ वटा मन्त्री पद तत्कालीन राजपाले तत्कालीन समाजवादी पार्टीसंगको गठबन्धन गर्दा राजपाले कोटा पाएको थियो ।

तर समाजिक विकास मन्त्री नवलकिशोर साह र उद्योग वन पर्यटन तथा वातावरण मन्त्री रामनरेश राय स्पष्टरुपमा उपेन्द्र पक्षमा लागेका छन् । भने अन्य मन्त्री तथा राज्यमन्त्रीहरु खुलेका छैनन् ।

जसपाका अध्यक्ष महन्थ ठाकुरसहित ४ जना नेतालाई कारबाही गर्ने निर्णयमा उनीहरुले समेत हस्ताक्षर गरेका छन् । यसमा ति दुवैजनालाई मन्त्रीमै यथावत राख्ने र महन्थ पक्षका मन्त्री सोनल सहित ३ राज्यमन्त्रीलाई हटाउने आन्तरिक तयारी उपेन्द्र पक्ष लागेको स्रोतको भनाई छ ।

जसपा भित्र लफडा

संघीय सरकारमा जसपाको एक समूह ओली सरकारमा सहभागी भएसंगै प्रदेश नम्बर २ मा जसपा भित्र समेत प्रदेश सरकार परिवर्तनका लागि लविंग थालेका छन् ।

सरकार परिवर्तन भयो भने मुख्यमन्त्री समेत परिवर्तन हुने भएकाले मुख्यमन्त्री लालबाबु राउतको विरोधमा समेत सत्तासमिकरण बनाउने खेल जसपा भित्रको उपेन्द्र पक्षबाट भईरहेको स्रोतको भनाई छ ।
यदी मुख्यमन्त्री परिवर्तन भयो भने जसपाबाट अहिलेको आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवलाई अघि सार्ने स्रोतको दावी छ ।

मुख्यमन्त्रीमा कांग्रेसका दावी

राजधानी काठमाडौंमा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिसंग अध्यक्ष उपेन्द्र यादवले भेटेपछि जनकपुरधाममा रहेका कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले प्रदेश सरकार परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले सरकार परिवर्तन भएमा आफु नै मुख्यमन्त्री बन्न पाउनुपर्ने दावी गरेका छन् । उनले अहिलेको कम्यूनिष्ट पार्टी र जसपा बामशंकर भएको भन्दै उनले भने– टेबुलमा बसेपछि दावी गर्ने हो । त्यस्तै जसपाको पनि अवस्था छ । संसदीय दलका नेता रामसरोज यादवले मुख्यमन्त्री पदको दावी गरेपनि माओवादी केन्द्रले भने चासो देखाएको छैन । माओवादीका संसदीय दलका नेता भरतप्रसाद साहले प्रदेश नम्बर २ को सरकार पुनःगठनको गृहकार्य भईरहेको बताए । उनले मुख्यमन्त्रीमा लालबाबु राउत नै रहने स्पष्ट पारे ।

जसपा भित्रका राजपा हेर र पर्खको अवस्थामा

संघीय सरकारमा सरकार पुनःगठन तथा मन्त्रीपरिषद् विस्तारमा जसपाको एक समूह सहभागीसंगै प्रदेश २ मा तत्कालीन राजपा नेपाल भने अन्योलमा परेको छ । कतिबेला तत्कालीन राजपाबाट मन्त्री बनेकाहरुको पद जाने हो भन्नेमा चिन्तित छन् ।

जसपाका सचेतक परमेश्वर साहले मुख्यमन्त्री लालबाबु राउतको सरकारले के गर्छ हेर र पर्खको अवस्थामा रहेको बताए । उनले हामीलाई सरकारबाट हटाए पनि ठिक नहटाएपनि ठिकै रहने भन्ने आसय व्यक्त गरे ।

प्रदेश सरकार पुनःगठनको गणित

प्रदेश नम्बर २ मा सत्तारुढ जसपा भित्र रहेका तत्कालीन समाजवादी पार्टीका ३० र तत्कालीन राजपा नेपालका २५, एमालेका २१, कांग्रेसका १९ र माओवादी केन्द्रका ८ र १ जना स्वतन्त्र सांसद छन् ।

प्रदेश सभाको सदस्य संख्या १०७ भए पनि एमाले ओली पक्षमा सामेल एक समानुपतिक सहित आफ्ना ४ जना प्रदेश सांसदलाई माओवादी केन्द्रले कारबाही गरेपछि १ सय ४ जना मात्र सांसद छन् ।

प्रदेश २ मा सरकार माथि अविश्वास प्रस्ताव गरेमा बहुमत सिद्धका लागि कुल ५३ सांसद आवश्यक पर्नेछ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस