धेरै हल्ला नफैलाउँ, सिद्धबाबा डाँडा पनि काटिन्न, चुरेमा पनि हस्तक्षेप हुन्न : उपप्रधानमन्त्री पौडेल - सिधा मिडिया



धेरै हल्ला नफैलाउँ, सिद्धबाबा डाँडा पनि काटिन्न, चुरेमा पनि हस्तक्षेप हुन्न : उपप्रधानमन्त्री पौडेल

    २६ जेष्ठ २०७८, बुधबार २०:४४  मा प्रकाशित
89 जनाले पढ़िसके

प्रतिक्रिया


    काठमाण्डौ ।

    सरकारले चुरेअन्तर्गको सिद्धबाबा डाँडा काटिँदैछ भन्ने विषयमा अनावश्यक भ्रम फैलाइएको बताएको छ । नेपाल वातावरण पत्रकार समूहले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा उपप्रधानमन्त्री एवम् अर्थ मन्त्री विष्णु पौडेलले सिद्धबाबा डाँडा काटिँदैछ भन्ने विषयमा अनावश्यक भ्रम फैलाइएको भन्दै उनले सरकारले त्यसमा पहिराबाट बर्सेनि हुने मानवीय क्षति रोक्न सुरुङको निर्माण प्रक्रिया अघि बढाएको बताए ।

    यस्तै आर्थिक वर्ष २०७८, ०७९ को बजेटमा उल्लेख गरिएको बजेट घाटा कम गर्न ढुङ्गा, गिट्टी र बालुवा निकासी गर्ने नीति चुरे क्षेत्रसँग सम्बन्धित नभएको पनि सरकारले स्पष्ट पारेको छ । त्यसरी उत्खनन गरिने ढुङ्गा, गिट्टी र बालुवा खानी तथा भूगर्भ विभागले यसअघि पहिचान गरेका १४ जिल्लाका ९२ खानीबाट मात्र गरिने सरकारी पक्षले स्पष्ट पारेको हो ।

    सरकारले भर्खरैमात्र सार्वजनिक गरेको बजेटको बुँदा नं १९९ मा वातावरणीय प्रभाव मूल्याङ्कनका आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिने उल्लेख छ । साथै निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी विन्दुसम्म रोप–वे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुलमा छुट दिने व्यवस्था मिलाइएको बजेटमा व्यवस्था छ ।

    अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले बजेटको त्यस बुँदामा चुरे उल्लेख नभए पनि चुरेका नाममा राजनीति गर्न खोजिएको बताउँदै यसले चुरेमा कुनै पनि हस्तक्षेप नहुने बताए । चुरे क्षेत्रको संरक्षणमा सरकारले कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, बुँदा नं १९९ मा चुरेलाई जोड्ने राजनीति भएको छ । चुरेबाट एक डोको ढुङ्गा र एक डोको माटो पनि उत्खनन हुँदैन । चुरे देशको महत्त्वपूर्ण सम्पदा हो । यसको संरक्षणप्रतिको चिन्ता भने स्वाभाविक हो ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस