किसानले 'यस्ता बाख्रा त लिँदैनाैँ' भनेपछि नगरपालिकाले फिर्ता गरिदियाे - सिधा मिडिया

किसानले ‘यस्ता बाख्रा त लिँदैनाैँ’ भनेपछि नगरपालिकाले फिर्ता गरिदियाे

    २८ जेष्ठ २०७८, शुक्रबार १०:२९  मा प्रकाशित
543 जनाले पढ़िसके




रुकुम पश्चिम –

बाख्रापालनका लागि किसानलाई वितरण गर्ने भनी ल्याइएका बाख्रा किसानहरूले नै लिन अस्वीकार गरेका छन् । वितरणका लागि ल्याइएका बाख्रा मापदण्ड विपरीतका भएपछि जिल्लाको मुसिकोट नगरपालिकाले फिर्ता गरिदिएको छ ।

आर्थिक वर्ष २०७७∕०७८ मा नगरपालिकाका किसानलाई वितरण गर्न ल्याइएकामध्ये २६ वटा बाख्रा फिर्ता गरिएको नगरपालिकाले जनाएको छ । बाख्रा खरिदका लागि गरिएको टेन्डरअनुसार सम्झौता गरेको ठेकेदार कम्पनीले ल्याएका बाख्रा पालनयोग्य तथा उत्पादनयोग्य नभएका र किसानले समेत लिन अस्वीकार गरेकाले फिर्ता पठाइएको मुसिकोट नगरपालिकाका सामाजिक विकास समितिका संयोजक सुशील गौतमले बताउनुभयो ।

उहाँका अनुसार ठेकेदारले ल्याएका पहिलो चरणका ५६ वटा बाख्रामध्ये २६ वटा बाख्रा फिर्ता पठाइएको हो । नगरपालिकाले यहाँका विभिन्न योजना तथा कार्यक्रमको प्रभावकारिताका बारेमा अनुगमन गरिरहेको छ । कार्यक्रमको लक्ष्य तथा उद्देश्य विपरीत हुने हरेक खालका कार्यलाई अनुगमन गरेर निरुत्साहन गरिने सामाजिक विकास समितिका संयोजक गौतमले जनाउनुभयो ।

साझेदारीमा किसानलाई व्यावसायिक बनाएर आर्थिक उत्पादनमा जोड्ने उद्देश्यले बाख्रापालन कार्यक्रम राखिएको थियो । यस वर्ष एक सय ५० वटा बाख्रा वितरणको कार्यक्रम रहेको छ । बाँकी बाख्रा अब तत्कालै ल्याएर वितरण गरिने नगरपालिकाको पशु सेवा शाखा प्रमुख सरस्वती सापकोटाले बताउनुभयो । पहिलो चरणमा ल्याइएकामध्ये २६ वटा बाख्रा कोही साना, कोही बूढो भएका र मापदण्डभित्रका नभएकाले फेरि किसानसँग सहकार्य गरेर ल्याउने गरी ठेकेदारलाई नै फिर्ता गरिएको उहाँकाे भनाइ छ ।

बाख्रा खरिद  र वितरणका लागि केअरफाम नेपाल प्राली नेपालगञ्जले सम्झौता गरेको थियो । यसका लागि सङ्घीय सरकार र मुसिकोट नगरपालिकाले संयुक्त बजेटबाट १८ लाख ४२ हजार रुपैयाँको टेन्डर आह्वान गरिएको थियो । यसमा बाख्रा खरिद, घाँस, औषधिसमेतकाे व्यवस्थाका लागि बजेट विनियोजन गरिएको थियो ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस