हराएकी विना नारायणी किनारतर्फ गइरहेको सिसिटिभी फुटेज भेटियो - सिधा मिडिया

हराएकी विना नारायणी किनारतर्फ गइरहेको सिसिटिभी फुटेज भेटियो

    १ श्रावण २०७८, शुक्रबार १७:१३  मा प्रकाशित
204 जनाले पढ़िसके




गत असार १४ गते भरतपुरबाट हराएकी युवती नारायणी नदी किनारतर्फ जाँदै गरेको सिसिटिभी भिडिओ भेटिएको छ।

उक्त दिन नवलपुरको गैंडाकोटस्थित घरबाट प्रेमी प्रवेश कँडेलसँग भरतपुरतर्फ निस्किएकी विना सापकोटा सोही दिनदेखि हराइरहेकी थिइन्।

बाबु जयश्वर सापकोटाले दिएको जाहेरीका आधारमा प्रेमी प्रवेशलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको चितवन प्रहरीले नारायणगढस्थित नारायणी किनार नजिकैको एक पसलले राखेको सिसिटिभी क्यामेराको रेकर्डमा विना कैद भएको भेटेको हो।

राति ८ बजेर ४१ मिनेटमा विना नारायणी नदीको किनारतर्फ जाँदै गरेको फुटेज भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले बताए।

विनाले नारायणगढको लीलाचोक नजिकका एक व्यक्तिसँग फोन मागेर प्रवेशसँग कुराकानीसमेत गरेकी थिइन्।

विनाको मोबाइल सेट भने प्रहरीले प्रवेशको साथमा फुटेको अवस्थामा भेटेको थियो। मोबाइलविहीन बनेकी विनाले अपरिचित व्यक्तिको मोबाइलबाट ११ सेकेन्ड प्रवेशसँग बोलेको भेटिएको छ।

केहीबेर बोलेपछि फोन दिएर ती युवती नदीकिनारतर्फ गएको ती व्यक्तिले जानकारी गराएको विनाका बुबा जयश्वरले बताए।

सोही दिन राति ८ बजे भरतपुरस्थित भाटभटेनीअगाडि हिँडिरहेको स्थानीयले देखेका थिए। त्यसपछि प्रहरीले नारायणगढ बजार क्षेत्रमा रहेका क्यामरामा उनको खोजी गरिरहेको थियो।

‘राति केटी मान्छे एक्लै नदी किनारतिर गएको देखेपछि स्थानीयले खोजी पनि गरेछन्,’ डिएसपी थापाले भने, ‘लाइट बालेर एकछिन खोजी गर्दा नदेखिएको उनीहरूले बताए।’

थापाकाअनुसार विना नारायणी नदीको किनारमा रहेको बुद्धको मूर्तितर्फ गइरहेको देखेको स्थानीयले बताएका थिए।

नदीकिनारतर्फ गएकी भेटिएपछि प्रहरी र आफन्तले त्यस आसपासमा विनाको खोजी गरिरहेका छन्।

प्रहरीले नियन्त्रणमा रहेका भनिएका प्रवेश भने हाल भरतपुर अस्पतालमा छन्। छोरी हराएपछि असार १८ गते बाबु जयश्वरले प्रवेशविरूद्ध प्रहरीमा उजुरी दिएका थिए।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस