राष्ट्र बैंककै कारण शेयर बजारमा समस्या देखिएको भए “नीतिबाट व्याक हुन ढिलाइ गर्नु हुँदैन” सभापति अर्थ समिति - सिधा मिडिया

राष्ट्र बैंककै कारण शेयर बजारमा समस्या देखिएको भए “नीतिबाट व्याक हुन ढिलाइ गर्नु हुँदैन” सभापति अर्थ समिति

    १६ आश्विन २०७८, शनिबार २२:११  मा प्रकाशित
159 जनाले पढ़िसके




नेपाल राष्ट्र बैंकप्रति संसद्को अर्थ समिति असन्तुष्ट देखिएको छ। मिनी संसद् भनेर चिनिने अर्थ समिति तरलता टाइटको अवस्था, बढ्दै गएको ब्याजदर र निरन्तर घट्दो अवस्थामा गएको शेयर बजारलाई लिएर असन्तुष्ट देखिएको हो।

समितिले देशमा लगानीको वातावरण सिर्जना गर्न चाहिने सबैभन्दा महत्त्वपूर्ण विषय मौद्रिक व्यवस्थापनमा समस्या देखिदै गएको, मौद्रिक व्यवस्थापन आएकाे समस्याका कारण तरलता टाइट हुँदै गएको,जसका कारण ब्याजदर वृद्धिमा टेवा पुगेको,ब्याजदर वृद्धिले लगानी खुम्चने सक्ने अवस्था हुँदा लागत बढ्न गएर यसले मुद्रा स्फितिमा समेत धक्का लाग्न सक्ने अवस्था देखिँदै गएपछि मिनी संसद् राष्ट्र बैंकप्रति असन्तुष्ट देखिएको हो।

उता निरन्तर घट्दै गएको शेयर बजारलाई पनि समितिले गम्भीरतापूर्वक हेरिरहेको बताएको छ। शेयर बजारको विषयमा राष्ट्र बैंकले अर्थ समितिको निर्देशनलाई समेत बेवास्ता गरेको प्रति समिति थप असन्तुष्ट देखिएको हो। गत साउन १ गते अर्थ समितिले पूँजीबजारको विकास र स्थायित्वमा प्रतिकुल प्रभाव नपर्ने गरी नीतिगत प्रवन्ध गर्न भन्दै मौद्रिक नीति आउनु भन्दा अघि निर्देशन दिएको थियो। समितिले निर्देशन दिएको खबर सार्वजनिक भएपछि सर्वसाधारण लगानीकर्ता मौद्रिक नीतिमा शेयर बजार कस्ने नीति नआउने भन्दै ढुक्क भएका थिए।

किनकि समितिले दिएको निर्देशन जनप्रतिनिधिले दिएको निर्देशन बराबरको हैसियत हुने भएकोले त्यसलाई राष्ट्र बैंकले गम्भीरता पूर्वक नै लिन्छ भन्ने सर्वसाधारणको अपेक्षा थियो। सोही अपेक्षाका कारण शेयरमा लगानीकर्ता थप हौसिएका थिए। तर नेपाल राष्ट्र बैंकले समितिको उक्त सुझावलाई वास्ता नगरी १२ करोडको नीति अघि सारिदिएको थियो। यसलाई जनताका प्रतिनिधिकै सुझावलाई राष्ट्र बैंकले वास्ता नगरेकाे रूपमा समितिले लिएको छ। “पछिल्लो समय आएका नयाँ नीतिले चौतर्फी रुपमा समस्या देखिन थालेको गुनासो समितिमा आएका छन्।

तिनलाई अर्थ समितिले गम्भीर रुपमा हेरिरहेको छ। नीतिकै कारण समस्या आउनु हुने थिएन। समितिले यस विषयमा पहिले पनि सरकार लगायतलाई बोलाएर सचेत गराएको थियो। तर सचेत गराउँदा गराउँदै पनि आएकाे नयाँ नीतिले समस्या निम्त्याउनु भनेको राम्रो होइन। त्यस विषयमा नीति निर्माताहरुले गम्भीर हुनुपर्छ” अर्थ समितिका सभापति कृष्ण दाहालले मेरो लगानीसँग भने। समितिको निर्देशनको विश्वासमा लगानी गरेका लगानीकर्ता यति बेला समितिको हैसियतलाई सामान्य रुपमा लिन थालेका छन्। उनीहरूले सरकार अन्य निकायको अघि समितिको दाल नगल्ने अर्थ्याउन थालेका छन्। तर यति हुँदा हुँदै पनि समितिले आफ्नो कर्तव्य निर्वाहमा कुनै कसर नछोड्ने बताएको छ।

पोलिसकै कारण चौतर्फी रुपमा समस्या बढ्दै गए अर्थ समिति चुप लागेर नबस्ने, समस्या बढ्दै गए सरोकारवालाहरूलाई बोलाएर कडा कुरा गर्ने समितिको भनाई छ। “पोलिसिकै कारण बजारमा समस्या ल्याएको भए बोलाएर कुरा गर्न सकिन्छ। याे हाम्रो दायित्व पनि हो। हामी चुप लागेर बस्दैनौ“ दाहालले भने।

शेयर बजारलाई नीति निर्माताहरुले केही सीमित व्यक्तिहरूले कमाउने भाँडो बनाएको भनेर मात्रै व्याख्या गर्दै गएको तर उनीहरूले पूँजी बजारको महत्त्व र त्यसले मुलुकको आर्थिक विकासमा खेल्न सक्ने भूमिकालाई भने बिर्सँदै गएको समितिको भनाई छ। शेयर बजारलाई सरकार र यसका नियामक निकायले व्यवस्थित गरेर यसबाट मुलुकलाई फाइदा पुर्‍याउने विषयमा भने दुवैले सन्तोषजनक काम गर्न नसकेको समितिको ठहर छ। नीति निर्माताहरुले शेयर बजारबाट केही व्यक्तिले लाभ लिए भनेर उनीहरूलाई ठीक लगाउनु पर्छ भन्ने उद्देश्यले सम्पूर्ण क्यापिटल मार्केटको मर्म र त्यसको उपदेयता नै सकिने गरी नीति अघि सार्नु ठीक हुँदैन। व्यक्ति केन्द्रित नीतिले मुलुकलाई सम्पन्नता तर्फ नलैजाने बरु त्यसले विकृतिलाई बढवा दिन्छ।

नीति निर्माताले निश्चित व्यक्तिलाई मात्रै फाइदा वा बेफाइदा हुने गरी नीति निर्माण गर्न नहुने दाहालले बताए। शेयर बजारमा केही समस्या देखिएको तर ती समस्यालाई समाधान गर्ने भन्दा पनि तिनै समस्याहरूमा टेकेर थप जटिलता थपिँदै लैजानु राम्रो होइन। बरु अन फेयर मार्केटलाई फेयर मार्केट बनाउन तर्फ लाग्नु उचित हुन्छ। त्यसको लागि सरकार, संसद्, अर्थ समितिलगायत सबै तयार हुनु पर्ने दाहालको जिकिर छ। “फेयर मार्केटको लागि हाम्रो पूँजी बजारमा केही समस्याहरू छन्। ती समस्या समाधानका लागि हामीसँग नियम कानुन छन्।

ती नियम कानुन पर्याप्त छैनन् भने तिनलाई अझ परिमार्जन गर्नका लागि संसदका समितिहरू तयार छन्। संसद् पनि तयार छ। सरकार पनि तयार भएर बस्नु पर्छ। त्यसैले अन फेयर कुनै पनि लगानीकर्ताहरू डुब्न हुँदैन। अन फेयर मार्केट बनाएर ठूला लगानीकर्ताहरूबाट साना लगानीकर्ताहरू ठगिने स्थितिबाट पूँजी बजार बचाउनु पर्छ। सरकार,नीति निर्माता र संसद्को दायित्व चाहिँ यो हो” दाहालले भने। पछिल्लो समय लगातार घटेको शेयर बजारले अन्तर्राष्ट्रिय जगतमा राम्रो सन्देश दिइरहेको छैन। बजार सधैँ घटिरहने वा बढिरहने हुँदैन। घटबढ हुँदै अघि बढ्नु बजारको आफ्नै सौन्दर्य हो।

तर यति भन्दा भन्दै पनि निरन्तर बजार घटेको घटै गर्ने र फेरि बढेको बेलामा पनि बढेको बढै गर्नु पनि राम्रो हुँदैन। बजार आफ्नै ढङ्गले चल्नु पर्छ। बजार स्वतन्त्र हुनु पर्छ। कसैले स्वतन्त्र बजारलाइनै प्रेसर दिने गरी सुनियोजित गतिविधि गरिरहेको देखिए त्यसलाई तत्काल नियन्त्रण गर्नु पर्छ। कहिले काँही राम्रो मनसायले ल्याएको नीतिले पनि खराब स्थिति सिर्जना गर्न बल पुर्‍यायो भने त्यस्ता नीतिबाट व्याक पनि हुन सक्नु पर्छ। राष्ट्र बैककै कारण पनि समस्या देखिएको भए उसले पनि आफ्नो नीतिबाट व्याक हुन ढिलाइ गर्नु हुँदैन।

“नीति बनाउँदै गर्दा त्यसैको कारणले सर्वसाधारण डुब्ने र क्यापिटल मार्केट नै धरापमा पर्ने स्थिति रहेछ भने पनि त्यसलाई सच्याउने जिम्मेवारी पनि हाम्रै हो। यदि राष्ट्र बैंकले मौद्रिक नीतिमा शेयर बजारलाई फेयर बनाउँछु भनेर ल्याएको नीतिले अन फेयर गराउन प्रोत्साहन मिलिरहेको छ भने उसले आफ्नो नीतिमा सुधार गर्नु पर्छ। सरकार वा नियामकले नै ल्याएका नीतिले अन फेयर बनाउने अवस्था ल्यायो भने उनीहरू पनि आफ्नो नीतिबाट व्याक हुनु पर्छ। हामीले पनि अहिलेको अवस्थालाई गम्भीरतापूर्वक हेरिरहेका छौ। नीतिकै कारणले हिट गरेको रहेछ भने राष्ट्र बैंकलाई हामी छलफलमा बोलाएर केही निर्देशन पक्कै दिने छौ” दाहालले भने।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस