फेरि: कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित - सिधा मिडिया



फेरि: कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

    २९ मंसिर २०७८, बुधबार ०६:३९  मा प्रकाशित
215 जनाले पढ़िसके




काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिएका हुन् ।

देशको सबैभन्दा जेठो पार्टी नेपाली कांग्रेसको १४ औं महाधिवेशनले शेरबहादुर देउवालाई निर्विकल्प नेता निर्वाचित गरेको हो । पाँचौ पटक मुलुकको प्रधानमन्त्री बनेका देउवा दोस्रो पटक कांग्रेस सभापतिमा निर्वाचित भएका छन् ।

राष्ट्रियसभा गृहमा चलिरहेको मतगणना अन्तिम चरणमा पुगेको छ । ३८१९ मत गणना भइसक्दा देउवाले २२८८ मत पाएका छन् । यससँगै उनको जित सुनिश्चित भएको छ ।

किनकी सभापतिमा निर्वाचित हुन कुल खसेको मत ४ हजार ५६२ को बहुमत अर्थात २२८२ भए पुग्छ । २०७२ मा भएको १३औं महाधिवेशनमा पनि उनले दोस्रो चरणको मतदानबाटै सभापति जितेका थिए ।

१३ औं महाधिवेशनमा पनि दोस्रो चरणको मतदानबाट सभापति निर्वाचित भएका देउवा १४ औं महाधिवेशनमा चुनौति सामना गरिरहेको थिए । तर दोस्रो चरणमा प्रवेशसँगै सभापतिका तीन प्रत्यासी प्रकाशमान सिंह, विमलेन्द्र निधी र कल्याण गुरुङको समर्थन पाएपछि उनको विजय सुनिश्चित भएको थियो ।

नेपाली कांग्रेसमा गिरिजाप्रसाद कोइरालापछि सर्वाधिक शक्तिसाली नेता बन्ने मौका देउवाले पाएका छन् । नेतृत्व परिवर्तनको एजेण्डा बोकेर चुनावी मैदानमा उत्रिएका दोस्रो पुस्ताका नेताहरुले देउवासामु सरेन्डर गरेपछि उनको विजय पूर्व सुनिश्चित थियो ।

देउवा सभापतिमा निर्वाचित भएका छन् । तर शेखर कोइरालाको नेतृत्वमा कांग्रेसका ‘क्रिम लिडर’हरु पदाधिकारी र केन्द्रीय सदस्यको प्रतिस्पर्धामा छन् । देउवाले दोस्रो पटक कांग्रेस सभापति निर्वाचित हुँदै गर्दा कांग्रेसलाई भावनात्मक रुपमा एक गराउने चुनौति पनि सँगै वरण गरेका छन् । किनकी अब बैशाखदेखि मुलुकमा तीनै तहको निर्वाचन प्रारम्भ हुनेछ ।

को हुन् देउवा ?

शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति तथा नेपालका वर्तमान प्रधानमन्त्री हुन। देउवा नेपाली काँग्रेसको संसदीय दलको समेत नेतृत्व गर्दै वि.सं. २०५२ सालमा पहिलोपटक नेपालको प्रधानमन्त्री बनेका थिए। पटक पटक गरी देउवा ५ पटक प्रधानमन्त्री बन्न सफल रहेका छन्।

नेपाली काँग्रेसको विभाजन पछि उनी नेपाली कांग्रेस (प्रजातान्त्रिक)को सभापति थिए। काँग्रेस पुनर्मिलन पश्चात् उनी आफ्नो पार्टीसँगै नेपाली काँग्रेसमा गाभिएका छन्। शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री रहिसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुरा जिल्ला क्षेत्र नं. १ र कञ्चनपुर जिल्ला क्षेत्र नं. ४ बाट संविधानसभामा प्रतिनिधित्व गर्दछन्।

वि.सं. २०४८,२०५१ र २०५६ का संसदीय निर्वाचनहरूमा डडेलधुरा जिल्ला क्षेत्र नं. १ बाट विजयी देउवाले गृहमन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेका छन्। उनी माओवादी समस्या समाधानका लागि गठित उच्चस्तरीय समितिका अध्यक्ष थिए। प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा नेपाल विद्यार्थी सङ्घ (ने. वि. संघ)का प्रथम सभापति थिए र सुदूर पश्चिममा नेपाली कांग्रेसका सर्वाधिक प्रभावशाली व्यक्तित्व मानिन्छन्।

डडेल्धुरा जिल्लाको पश्य गर्खा क्षेत्रमा एक सम्पन्न परिवारको रूपमा रहेको शेर बहादुर देउवाको परिवारलाई डडेल्धुरा क्षेत्रमा ठकुरी देउवा परिवार भनेर चिन्दछन। डोटी पचनाली, लुलानी मल्ल, डोटी बोगटानी बम र बोगटी रजवारसंग मात्र बैबाहिक स’म्बन्ध गर्ने यो परिवार सम्पन्न र जागिरदार परिवारको रूपमा ऐतिहासिक कालदेखि चिनिदै आएको परिवार हो।

डोटी राज्यकालमा डडेल्धुराको “पश्यगर्खा क्षेत्र” यिनैको अधिनमा थियो । चन्द्रवंशी, कश्यप गोत्रीय यी देउवाको कुलको देवता बडालको गन्याप लाटो (गणेश) र अशिग्राम केदार हो। जानकारी भए अनुसार डोटी राज्यकालमा चर्चित बनेका कुसलसिंह देउवा रजवारका दुई पुत्र जेठा गोमनसिंह देउवा रजवार र कान्छा बहादुर सिंह देउवा रजवार हुन्।

जेठा गोमन सिंह देउवा रजवारका एक पुत्र उदैसिंह देउवा रजवार भए उदैसिंह देउवा रजवारका एक पुत्र प्रसादसिंह देउवा रजवार हुन्। प्रशादसिंह देउवा रजवारका दुई श्रीमती (डडेल्धुरा गणेशपुर मैरोड़ाका मल्लकुलकी छोरी धनादेबी (मल्ल) देउवा र डोटी बोगटानका बम कुलकी छोरी द्रोपती (बम) देउवा)बाट ३/३ छोराहरु गरेर ६ छोराहरु क्रमश शेरबहादुर देउवा, लोकबहादुर देउवा, गणेशबहादुर देउवा, प्रेमबहादुर देउवा, ललितबहादुर देउवा र बलबहादुर देउवाको जन्म भयो ।

यी ६ भाइ मध्ये जेष्ठ पुत्र शेरबहादुर देउवा राजनीतिमा सफल व्यक्तित्व बन्न पुगे शेरबहादुर देउवाका एक पुत्र जयबिर देउवा छन्। शेरबहादुरका भतिजा शिवबहादुर देउवा नेपाली सेनामा बरिष्ट क्याप्टन हुँदै मेजरको रूपमा लोकप्रिय अधिकृत भएर सेवा दिरहेका छन्। माईला लोकबहादुर देउवाका पुत्र भानबहादुर देउवा (भानु देउवा) शेरबहादुर देउवाका पिए (स्वकीय) सचिब छन्।

निडर, निस्कपटी भावना भएका शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री र एउटा ठूलो राजनीतिक पार्टीको प्रमुख ब्यक्ति बन्न सफल भएर आफ्नो पुर्खाको बीरताले भरिएको, वीरगाथा, चैत गीत धमारीमा समेटिएको देउवा कुलकै गौरव र इतिहास बचाउन पनि सफल बने भन्ने मान्यता जानकारहरु राख्दछन।

देउवाहरु डडेल्धुराको रुवाखोला, कुमाऊ बंडालु, पिथौड़ागड, सोर, चंदेनी र डोटी गड्सेरा देउवान क्षेत्रमा गरी झन्डै ५०० परिवारको संख्या (कुमाऊ क्षेत्रमा -२००, डोटी गड्सेरा देउवान क्षेत्रमा १५०, र रुवाखोला क्षेत्रमा १५०)मा फैलिएर रहेका छन् । कुमाऊमा भारतीय सेनाका अधिकृत, डाक्टर, इन्जिनियर छन्। नेपालमा आफ्नो कुलको व्यक्ति शेरबहादुर देउवा देशको प्रधानमन्त्री बनेकोमा गौरव गर्छन।

राजनीतिक संघर्षका क्रममा उनले नौ वर्ष जेल जीवन बिताएका छन्। देउवाले नेतृत्व गरेको जननिर्वाचित सरकारलाई तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा “असक्षम”को आरोप लगाई विघटन गरेका थिए भने उनैले दुई वर्ष पछि वि.सं. २०६१ सालमा पुनः प्रधानमन्त्री नियुक्त गरेका थिए।

पार्टीको अन्तरिक द्व”न्द्वका क्रममा देउवाले आफ्नो नेतृत्वमा वि.सं. २०५९ सालमा नेपाली कांग्रेस (प्रजातान्त्रिक)को गठन गरेका थिए भने वि.सं. २०६४ सालमा सो पार्टीको नेपाली कांग्रेससँग एकीकरण भयो र उनी वरिष्ठ नेतामा स्थापित भए। प्रजातन्त्र प्रतिको अटुट लगाव र तदनुरूप संघर्ष तथा व्यक्तित्व र आचरणका कारण जनताले आफूलाई सधैँ विजयी गराउँदै आएको मान्ने देउवा संविधान सभामा लोकतन्त्रको संस्थागत विकासका लागि क्रियाशील हुने बताउछन्।

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एम्. ए. गरेका उनी देउवा सोही विषयमा लन्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसकेका छन्। एउटा विकट सिथानमा जन्मेर पनि शेर बहादुर देउवाले आफ्नो जीवन गरिव, पिछडिएको समाज, जाति, बर्ग, देशको निम्ति समर्पण गरेको पाइन्छ । डडेल्धुरा जिल्ला अशिग्राम गाउँ विकास समितिको रुवाखोला जस्तो बिकट स्थानमा जन्मेका शेर बहादुर काठमाडौँ अध्यन गर्ने सिलसिलामा प्रजातन्त्रको निम्ति संघर्ष गर्दा तत्कालीन पंचायती राज्यको शि’का’र भएका थिए।

उनले आफ्नो युवा अवस्था प्रवासमै बिताउनु पर्यो। युवा अवस्थाको अन्तिम जवानीमा नेपाल फर्केका शेर बहादुर देउवाको लागि नेपाली कांग्रेसको राजनीति सफल बन्यो उनी देशको गृहमन्त्री हुँदै प्रधानमन्त्रीसम्म बन्न सफल भए। यही राजनीतिले गर्दा योग्य शिक्षित पढेलेखेकी जीवन संगिनीसंग वहाको लगन गाठो जोडियो।

देउवा कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको प्रेरणाबाट राजनीतिमा होमिएका थिए । खासगरी वि. सं. २०१७ को राजनीतिक घटनाक्रम पछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर रूपमा सक्रिय उनी नेपाल विद्यार्थी संघका प्रथम निर्वाचित सभापति एवम् संस्थापक सदस्य हुन् ।

वि. सं. २०२८ मा उनी नेपाल विद्यार्थी संघको सभापतीमा चुनिएका थिए । वि. सं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेल्धुरा जिल्लाबाट निर्वाचित उनी वि. सं २०६४ र वि. सं २०७० सालमा भएको संविधान सभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर जिल्ला र कैलाली जिल्लाबाट समेत विजयी भएका थिए ।

२०५१ मा गिरिजा प्रसाद कोइरालाले संसद विघटन गरि मध्यावधि निर्वाचन घोषणा गरे। २०५१ को मध्यावधी निर्वाचनमा नेपाली कांग्रेस दोस्रो भएपछी शेरबहादुर देउवा संसदीय दलको नेता भए। कुनै पार्टीको स्पष्ट बहुमत नआए पछि २०५१ मंसिर १४ मा सबैभन्दा ठूलो दल नेकपा एमालेको तर्फबाट संसदको सबैभन्दा टूलो दलको हैसियतले मनमोहन अधिकारीले अल्पमतको सरकारको नेतृत्व गरे।

२०५२ जेठ ३० मा प्रधानमन्त्री अधिकारीले राजा वीरेन्द्र समक्ष २०५२ मंसिर ७ मा प्रतिनिधि सभाको निर्वाचन मिती तोकेर संसद विघटनको प्रस्ताव गरे। अघिकारीले सरकारलाई काम गर्न नदिइएकाले सार्वभौम सत्ता सम्पन्न जनतामा जानुपर्ने राजनैतिक आवश्यकता रहेको तर्क दिएका थिए। प्रधानमन्त्रीको सिफारिसमा संसद विघटन भयो। यो कदम विरुद्ध सर्वोच्च अदालतमा मुद्धा पर्‍यो। २०५२/ भाद्र /१२ मा अदालतले सरकारको निर्णय उल्ट्यायो। त्यसपछी २०५२/ भाद्र /२५ मा अघिकारीले राजीनामा दिए।  बि.सं २०७८ जेठ ७ मा ओली मन्त्रीमण्डलले प्रतिनिधि सभा बिघटन सिफारिस गर्यो। १४९ सांसदले देउवालाइ प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरियोस् भनेर सर्वोच्च अदालतमा रिट दायर गरे। २०७८ जेठ २८ मा संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्रीका लागि आह्वान भएपछि १ सय ४९ सांसदको हस्ताक्षरसहित दाबी गरेका आधारमा देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको थियो। २०७८ असार २९ अपरान्ह ५ बजेभित्र देउवालाई नियुक्त गरिसक्न राष्ट्रपति कार्यालयका नाममा परमादेश जारी गरेको थियो।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस