सेयर बजारलाई गाली गर्दै प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्माकै सेयरमा लगानी - सिधा मिडिया



सेयर बजारलाई गाली गर्दै प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्माकै सेयरमा लगानी

    १५ पुष २०७८, बिहीबार १५:२१  मा प्रकाशित
183 जनाले पढ़िसके




नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अचेल सेयर बजार विरूद्ध आक्रामक रूपमा प्रस्तुत भइरहेका छन्।

उनले माओवादी केन्द्रको मंसिर २६ गते सातै प्रदेश अधिवेशनको उद्घाटनका क्रममा सेयर बजार ‘साम्राज्यवादको विकसित रूप’ भनेर टिप्पणी गरेका थिए।

प्रदेश अधिवेशनमा प्रचण्डले भनेका थिए, ‘पहिला पहिला पुँजीको लगानी उद्योग, उत्पादनमा हुन्थ्यो। त्यहाँबाट आउने नाफा पुँजीपतिहरूले लिन्थे। आजभोलि पुँजीको लगानी उत्पादनमा हुँदैन, मुख्यतया पुँजीको लगानी पुँजीमै हुन्छ।’

पुँजीको लगानी पुँजीमै हुने वित्तिय पुँजीवादको विशेषता भएर देखा परेको भन्दै उनले धितोपत्र, सट्टा बजार, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र एसियाली बैंक त्यसैको रूप भएको प्रचण्डको जिकिर छ।

भाषणमा मात्र होइन, माओवादी केन्द्रको जारी महाधिवेशनमा पेश गरेको राजनीतिक प्रतिवेदनमा पनि उनी सेयर बजार विरूद्ध आक्रामक देखिएका छन्। प्रतिवेदनमा उनले छोटो समयमै अकुत सम्पत्ति कमाउन सेयर बजारमा लगानी हुने गरेको लेखेका छन्। यसबाट केही पुँजीपतिले लाभ लिएको भन्दै उनले आलोचना गरेका छन्। केही पुँजीपतिले विश्व अर्थव्यवस्था आफ्नो नियन्त्रणमा ल्याउन प्रयास गरेको प्रचण्डको जिकिर छ।

‘मुठ्ठिभर पुँजीपति घरानाहरूको हातमा पुँजीको अत्याधिक संकलन र वित्तीय एकाधिकारको पुँजीमार्फत नवऔपनिवेशिक शोषण, वित्तिय तथा बहुराष्ट्रिय कम्पनीमार्फत विश्व अर्थव्यवस्थालाई आफ्नो नियन्त्रणमा ल्याउने प्रयास नव उदारवादी विचारधारा, व्यक्तिवाद र उपभोक्तावादमा प्रश्रय दिन विश्वलाई पुँजीवादी माल र मनोरन्जनको बजार बनाउनु यसको विशेषताको रूपमा रहेका छन्,’ उनले प्रतिवेदनमा उल्लेख गरेका छन्।

पुँजीपतिहरूले अरूको सम्पत्ति छिट्टै हडपेर छोटो समयमा अकुत सम्पत्ति आर्जन गर्न नै पुँजीलाई सेयर बजार, मुद्रा बजार, धितोपत्र खरिदबिक्री तथा घरजग्गा किनबेचमा लगानी गर्न थालेको प्रचण्डले प्रतिवेदनमा जिकिर गरेका छन्।

सेयर बजार विरूद्ध प्रचण्ड आक्रामक रूपमा प्रस्तुत भए पनि माओवादी नेता, कार्यकर्ता भने सेयर कारोबारमा आकर्षित देखिन्छन्। सेयर कारोबारमा माओवादी पार्टीका नेता, कार्यकर्ताले पनि लगानी बढाइरहेका छन्।

पहिलो उदाहरण नै माओवादी केन्द्रका नेता एवं अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ हुन्। उनले सेयर बजारमा लगानी गरेको देखिएको छ।

२०७३ सालमा अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा उर्जामन्त्री रहेका प्रभाकरले सार्वजनिक गरेको सम्पत्ति विवरणमा ५ हजार कित्ता सेयर रहेको खुलाएका छन्।

उनले सम्पत्ति विवरणमा पिपुल्स हाइड्रो सहकारीमा ५ हजार कित्ता सेयर रहेको र उक्त रकम जनमुक्ति सेनाबाट अवकाश हुँदा प्राप्त भएको विवरणमा भरेका थिए।

अहिले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा अर्थमन्त्री रहेका प्रभाकर लगायत मन्त्रिपरिषदका सदस्यले सम्पत्ति विवरण भने सार्वजनिक गरेका छैनन्।

अर्थमन्त्री प्रभाकरसँग मात्र होइन, माओवादीबाट निर्वाचन जितेर प्रदेशमा सांसद र मन्त्री भएकाहरूले पनि सेयर बजारमा लगानी गरेको सम्पत्ति विवरणमा देखिएको छ।

गण्डकी प्रदेशका पूर्व आन्तरिक मामिलामन्त्री हरिबहादुर चुमानले कृषि विकास बैंकको सेयर खरिद गरेका छन्।

मन्त्री हुँदा चुमानले बुझाएको सम्पत्ति विवरणमा कृषि विकास बैंकमा ३ हजार २ सय कित्ता सेयर खरिद गरेको उल्लेख गरेका थिए।

उनी माओवादी केन्द्र गण्डकीका संसदीय दलका नेता एवं पार्टीका केन्द्रीय सदस्य हुन्।

गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रहेका माओवादीकै अर्का नेता रामजी बराल ‘जीवन’ले नेपाल पूर्वाधार विकास बैंकको ६० कित्ता सेयर खरिद गरेका छन्।

यस्तै, गण्डकीका पूर्व कृषिमन्त्री लेखबहादुर थापा र अहिलेका कृषि मन्त्री चन्द्रबहादुर बुढाले सहकारीमा सेयर हालेका छन्। थापाले एक सय कित्ता र बुढाले १ हजार कित्ता सेयर किनेको सम्पत्ति विवरणमा खुलाएका छन्। उनीहरू दुवैजना माओवादी केन्द्रका नेता हुन्।

कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री तथा माओवादी नेता महेन्द्रबहादुर शाहीले पनि सम्पत्ति विवरणमा सेयरमा लगानी गरेको खुलाएका छन्। उनले भरेको सम्पत्ति विवरणमा धितोपत्र तथा सेयरतर्फ १ लाख १० हजार रूपैयाँ लगानी गरेको बताएका छन्।

कर्णाली प्रदेशकै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले सेयर बजारमा १५ लाख रुपैयाँ लगानी गरेको उल्लेख गरेकी छिन्।

उनले भरेको सम्पत्ति विवरणमा पिपुल्स इनर्जी लिमिटेडको सेयर खरिद गरेको उल्लेख गरेकी हुन्। केसी हालै माओवादी प्रदेश अधिवेशनबाट कर्णाली प्रदेश कमिटीको अध्यक्ष चुनिएकी छिन्।

सेयरमा लगानी गरेका गण्डकीका अर्थमन्त्री रामजी बराल ‘जीवन’ले अध्यक्ष प्रचण्डले प्रतिवेदनमा सेयर बजारबारे राखेको दृष्टिकोणमा शतप्रतिशत समर्थन जनाए।

सेयरमा साना लगानीकर्तालाई भन्दा पनि अध्यक्ष प्रचण्ड अर्बौं लगानी गरेका पुँजीपति तर्फ इङ्गित गरेको उनको दाबी छ।

‘हाम्रो अध्यक्षले भन्न खोजेको सेयरमा एक दुईलाख लगानी गरेकाको लागि होइन,अर्बौं अर्ब लगानी गर्नेप्रति लक्षित छ,’ उनले भने, ‘हाम्रा पार्टीका साथीहरूले गरेको सानो लगानीतर्फ संकेत गर्नुभएको छैन।’

उनले पुँजीको परिचालन उत्पादन र औद्योगिक क्षेत्रमा हुनुपर्ने प्रचण्डको जोड रहेको बताए।

सेयर बजार प्रति अध्यक्ष प्रचण्ड आक्रामक देखिए पनि अन्य नेता तथा कार्यकर्ता आकर्षित देखिनुलाई २ वटा दृष्टिकोणले हेर्नुपर्ने अर्थशास्त्री प्रा.डा लेखनाथ भट्टराईल बताउँछन्।

‘अध्यक्ष प्रचण्डले कि त कार्यकर्तालाई आफ्नो विचारधारा अनुसार प्रशिक्षित गर्न सक्नुभएन, कि उहाँ गलत हुनुहुन्छ,’ भट्टराईले भने ‘यो दुइटा कुरामा एउटा हुनुपर्छ।’

प्रचण्डले कम्युनिष्ट दर्शनका आधारमा सेयर कारोबार प्रति आक्रामक टिप्पणी गरिरहेको भन्दै उनले पुँजीवादको विकास नभई समाजवाद नआउनेतर्फ ध्यान दिन आग्रह गरे।

‘सेयर बजारका बारेमा प्रचण्डको धारणा वैचारिक र व्यवहारिक दुवै दृष्टिले उपुक्त छैन,’ उनले भने, ‘सेयर बजारप्रति उहाँले राख्नुभएको धारणामा पुनर्विचार गर्नुपर्छ ।’

सेयर बजारमा रहेका समस्या समाधान गरी व्यवस्थित बनाउनुपर्नेमा भने उनले जोड दिए।

पृथ्वीनारायण क्याम्पस पोखराका अर्थशास्त्र विभाग प्रमुख रहेका भट्टराईले सेयर बजारमा समस्या रहेको र केही व्यक्ति तथा कम्पनीको पकड घटाएर व्यवस्थित बनाउने जिम्मेवारी प्रचण्ड र उनको पार्टीको काँधमा रहेको बताए।

‘अर्थ मन्त्रालय सम्हालेको पार्टीका अध्यक्षले यसरी बोल्नु र पार्टीको प्रतिवेदनमा पेश गर्नु गलत छ,’ उनले भने, ‘सेयर बजारलाई व्यवस्थित बनाउनेतर्फ उहाँहरू लाग्दा अर्थतन्त्रलाई राम्रो हुन्छ।’

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस