क्यानेडालाई हराउँदै नेपाल सेमिफाइनल पुग्यो - सिधा मिडिया





क्यानेडालाई हराउँदै नेपाल सेमिफाइनल पुग्यो

    ९ फाल्गुन २०७८, सोमबार १९:४५  मा प्रकाशित
292 जनाले पढ़िसके


काठमाडौ ।

क्यानेडालाई हराउँदै नेपाल आइसीसी टी–२० क्रिकेट विश्वकपको ग्लोबल छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ। क्यानेडाले नेपाललाई सानो लक्ष्य दिएको थियो । ओमानको अल अमिरात क्रिकेट मैदानमा सोमबार भएको समूहको अन्तिम खेलमा क्यानडालाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो।

अब सेमिफाइनलमा नेपालले मंगलबार यूएईको सामना गर्नेछ। यूएईविरुद्ध जित हात पार्न सकेको खण्डमा नेपाल यसवर्षको अन्त्यमा अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा छनोट हुनेछ। क्यानडालाई हराएसँगै नेपाल ग्लोबल छनोटमा समूह बीको विजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको हो। नेपाल ३ खेलबाट ६ अंक जोड्दै समूहको शीर्षमा रह्यो। यूएई समूह बीको उपविजेता बनेको छ।

अर्को सेमिफाइनलमा मंगलबार नै आयरल्याण्ड र ओमान भिड्नेछन्। ओमानले समूह बीको उपविजेता र आयरल्याण्डले समूह ए को विजेता बन्दै एकअर्कासँगको भेट पक्का गरेका हुन्। दुबै सेमिफाइनलका विजेताहरु विश्वकपमा छनोट हुनेछन्।

समूहको अन्तिम खेलमा क्यानडाविरुद्ध नेपाललाई जित हात पारे वा थोरै अन्तरको हारले सेमिफाइनलमा पुग्ने समिकरण थियो। नेपाल क्यानडामाथि सहज जित निकाल्दै विश्वकप नजिक पुगेको हो। क्यानडाले दिएको ८१ रनको झिनो लक्ष्य नेपालले १४।१ ओभरमा २ विकेट गुमाएर भेट्टाएको थियो।

नेपालका लागि कुशल भुर्तेलले ३४ तथा दीपेन्द्रसिंह ऐरीले २७ रन बनाए। दुवै नटआउट रहे। यस्तै ​आसिफ सेखले १७ रन बनाए। उनले १६ बलमा एक चौका र एक छक्का प्रहार गरे।

त्यसअघि ओमानको अल अमिरात क्रिकेट मैदानमा टस हारेर फिल्डिङको निम्तो पाएको नेपालले क्यानडालाई १५ ओभरमा ८० रनमा अलआउट पारेको हो। बलरहरुले घातक बलिङ गरेपछि ९।१ ओभरमै ४८ रन बनाएको अवस्थामा नेपालले क्यानडाको ९ विकेट झारिसकेको थियो।

तर अन्तिम विकेटका लागि डिलोन ह्यालिंगर र सोलमान नजरले ३२ रनको साझेदारी गर्दै क्यानडालाई उक्त स्कोरमा पुर्‍याएका हुन्। डिलोनले २२ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २४ रन जोडे। कप्तान नभनित धालिवालले १८, रायन पठानले १४ र सलमान नजरले १० बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन। नेपालका कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए। ४ ओभरमा उनले १२ रनमात्रै खर्चे। यस्तै अविनास बोहरा र कमलसिंह ऐरीले समान २(२ विकेट लिए।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस