आखिर बजारबाट पैसा कहाँ हरायो ? म खोज्दै छु : अर्थमन्त्री - सिधा मिडिया





आखिर बजारबाट पैसा कहाँ हरायो ? म खोज्दै छु : अर्थमन्त्री

    ४ चैत्र २०७८, शुक्रबार २३:१६  मा प्रकाशित
353 जनाले पढ़िसके


काठमाडौँ —

अर्थमन्त्री जनार्दन शर्माले नगद घरमै लुकाएर राख्ने प्रवृत्तिका कारण तरलता अभाव सिर्जना भएको संकेत गरेका छन् । पछिल्लो समय पैसा लुकाएर राख्ने प्रवृत्ति झन् बढेको भन्दै त्यस्तो पैसा आफूले खोज्न थालेको बताए ।

शुक्रबार दिउँसो नागरिक लगानी कोषको ३२ औं वार्षिकोत्सवलाई सम्बोधन गर्ने क्रममा मन्त्री शर्माले तरलताको अभाव सृजना गराउन ओछ्यानमुनि वा सिरानमुनि पैसा राख्ने प्रवृत्ति बढेको भन्दै खोज्न थालेको बताए । ‘पुँजी कतै हराइरहेको छ ।

आखिर बजारबाट पैसा कहाँ हराइरहेको छ कतै सिरानीमुनि र ओछ्यानमुनि त बन्द रहेको छैन भन्ने कुराको खोजीमा म लागेको छु’ उनले भने, ‘हाम्रो पुँजी निष्क्रिय भएर कतै बसिरहेको त छैन यतातिर पनि हामी सबै नागरिकको ध्यान जानुपर्छ ।’

उनले क्रिप्टोकरेन्सी, डिजिटल नेटवर्किङ, हाइपर फण्डलगायत नयाँ प्रविधिको दुरुपयोग गरी पुँजी पलायन भइरहेकाले रोक्न संयन्त्र विकास गरिसकेको पनि जानकारी दिए । उनले भने ‘नयाँ विकास भएका विभिन्न प्रविधिहरुको दुरुपयोग गरेर क्यापिटल फ्लाई हुने प्रकृया देखा परेको छ । त्यसलाई नियन्त्रण गर्न विभिन्न संयन्त्र परिचालन भइसकेका छन् ।’ पछिल्लो समय मुलुकले तरलता अभावको समस्या खेप्ने क्रम लम्बिएपछि अर्थ मन्त्रालय पुँजी जुटाउन निरन्तर क्रियाशील भइरहेको उनले बताए ।

‘बैंकको ब्याजदर व्यवसायी अनुकुल हुनुपर्छ भनेर मैले भन्दै आएको छु । उत्पादनमुलक क्षेत्रमा प्रवाह हुने कर्जाको बेसरेट २ प्रतिशत भन्दा बढी हुनु हुँदैन भनेर मैले राष्ट्र बैंकलाई सल्लाह दिएको छु’ उनले दोहोऱ्याए ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस