उपमेयरमा फराकिलो अन्तरले सुनिता डंगोलको अग्रता - सिधा मिडिया



उपमेयरमा फराकिलो अन्तरले सुनिता डंगोलको अग्रता

    ३१ बैशाख २०७९, शनिबार २२:२२  मा प्रकाशित
913 जनाले पढ़िसके




काठमाडौं ।

काठमाडौं महानगरपालिकामा मेयरको पेचिलो प्रतिस्पर्धा भइरहँदा उपमेयरमा भने एमालेकी सुनिता डंगोलले फराकिलो अन्तरालमा लिड गरेकी छन् ।प्राप्त विवरण अनुसार ७५ भोटको गणना सकिँदा सुनिताले ५२ मत ल्याएकी हुन् । यो दुईतिहाइभन्दा बढी हो । उपमेयरका अन्य उम्मेदवारको मत संख्या प्राप्त भएको छैन ।काठमाडौंको मतगणना सुस्त गतिमा भइरहेको छ । एउटै मत गन्न १० मिनेजति लाग्ने बताइएको छ ।

म्याग्दीमा मतगणना सुरु
गलेश्वर, ३० वैशाख । म्याग्दीको धौलागिरि गाउँपालिकाबाहेक अरु सबै स्थानीय तहमा आज बिहानैदेखि मतगणना सुरु भएको छ ।जिल्लाको एउटैमात्र नगरपालिका बेनी नगरपालिकामा बिहान १०ः३० बजेदेखि मतगणना सुरु भएको हो । प्रमुख निर्वाचन अधिकृत तेजनारायण पौडेलले बेनी नगरपालिका–१ रत्नेचौरको मतपेटिकाको मत खन्याइ गणनाको सुरुआत गर्नुभएको हो ।

यसैगरी जिल्लाका मालिका, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा पनि मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएकोे छ । कार्यालयका प्रमुख भीमप्रसाद घिमिरेका अनुुसार भौगोलिक विकटताका कारण धौलागिरि गाउँपालिकाको गुर्जाबाट मतपत्र पालिकाको केन्द्र मुनामा आइनपुगेकाले त्यहाँको मतगणना सुरु हुन सकेको छैन ।कार्यालयका अनुसार शुक्रबार सम्पन्न मतदानमा जिल्लाभर ६६ प्रतिशत मत खसेको थियो । बेनी नगरपालिकासहित पाँचवटै गाउँपालिकामा कूल मतदातामध्ये ५६ हजार ५४३ मत खसेकामा महिला ३० हजार ३२, पुरुष २६ हजार ५१० र अन्य एकजना रहेको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

जिल्लामा जम्मा ७४ वटा मतदानस्थल र ११४ वटा मतदान केन्द्र रहेकामा स्थानीय तह निर्वाचनका लागि कूल ८५ हजार ३७५ मतदाता थिए । एक नगरपालिका, पाँचवटा गाउँपालिका र ४५ वटा वडा रहेको म्याग्दीमा पालिका तह चुनावको विभिन्न पदसहित कूल २३७ पदको लागि ७१८ जना उम्मेदवार चुनावमा उठेका छन् ।

जिल्ला निर्वाचन अधिकारी घिमिरेका अनुसार भौगोलिकरुपमा विकट क्षेत्र धौलागिरि गाउँपालिका–१ गुर्जाको मतपेटिका आज बिहान ५ बजे गाउँबाट ल्याइने छ । जिल्लामा अनुमान गरेभन्दा धेरै मत खसेको उहाँले बताउनुभयो । “अनुमान गरेभन्दा पाँच–सात प्रतिशत बढी मत खसेको छ”, प्रमुख घिमिरेले भन्नुभयो । यसैबीच बेनी नगरपालिकाको मतपेटिका सङ्कलन गरेपछि आज बिहान ८ बजेदेखि मात्रै मतगणना हुने जनाइएको छ । त्यस्तै जिल्लाका पाँचवटै गाउँपालिकाको मतदान केन्द्रबाट मतपेटिका गाउँपालिकाको केन्द्रमा लैजाने क्रम रहेको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस