खुल्यो एक-एकका पोल, गठबन्धनको उड्यो धज्जिया, अन्तत: फुट्ने फाइनल !

    ५ असार २०७९, आईतवार ०१:११  मा प्रकाशित
174 जनाले पढ़िसके








नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय निर्वाचनको परिणाम पछि झस्किएर गठबन्धन फुटाउने प्रयास सुरु भएको बताएका छन् । आज काभ्रेको बनेपामा काँग्रेस बनेपा नगर समितिले आयोजना गरेको बधाई शुभकामना कार्यक्रममा बोल्दै नेता सिंहले सो कुरा बताएका हुन् ।

अहिले एसपीपीको विषयमा हुँदै नभएको विषय उचालेर काँग्रेसमाथि प्रहार भैरहेको समेत उनको भनाई थियो। विपक्षी दलले आफू सत्तामा हुँदा पत्र लेखेको आरोप लगाउँदै उनले एसपीपीको नाममा गठबन्धन फुटाउन सकिन्छ कि भनेर प्रयास भएको बताए । काँग्रेसले राष्ट्रको अहित हुने कुनै सम्झौता नगर्ने समेत सिंहले बताए ।



प्रधानमन्त्रीले पटक पटक आफू राष्ट्रको अहित हुने कुनै पनि सम्झौता गर्दिन भनिरहँदा समेत नियोजित तरिकाले १० बुँदे ड्राफ्ट सार्वजनिक गरेर एमाले आफैं फसेको नेता सिंहको भनाई थियो ।

काँग्रेसले मात्रै मुलुकको हित गर्न सक्ने भन्दै उनले पार्टीभित्रको आन्तरिक एकता बलियो भएमात्र लोकतन्त्र बलियो हुने सिंहले बताए ।

निर्वाचित जन प्रतिनिधिलाई उनले पार्टीका कमिटीसितको छलफल र सुझाव लिएर मात्र काम गर्न आग्रह गर्दै पार्टी कमिटीले पनि निर्वाचित जनप्रतिनिधिलाई सहयोग गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

काँग्रेस नेतृत्वमा जारी भएको संविधान जोगाउन गठबन्धनमा जानु परेको उनको भनाई थियो । कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य गणेश लामा, बागमती प्रदेश महामन्त्री कन्चनचन्द्र बादे, काँग्रेस काभ्रेका जिल्ला सभापति तिर्थ लामा, बनेपा नगरपालिकाका मेयर शान्तिकृष्ण शाक्य लगायतले धारणा राखेका थिए । कार्यक्रम बनेपा नगरमा काँग्रेसबाट निर्वाचित जन प्रतिनिधिहरूलाई सम्मान समेत गरिएको थियो ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले माओवादी अध्यक्ष प्रचण्डलगायतका केही नेताले कांग्रेससँग गठबन्धनमा बार्गेनिङ गर्न एमालेले प्रधानमन्त्री प्रस्ताव गरेको भ्रामक विषय बाहिर ल्याएको बताएका छन् ।

एमाले अहिले कुनै पनि नामको गठबन्धनको बाटोमा नरहेको प्रस्ट पार्दै उनले एमालेसँग गठबन्धन बनाउने र भत्काउने कुनै फुर्सद नभएको दावी गरे ।

शनिबार बुटवलमा रिटर्नी फेडेरेसन नेपाल लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै पौडेलले भने, ‘केही दलका नेताले आफूलाई एमालेले प्रधानमन्त्रीको प्रस्ताव गरेको भन्दै प्रचार गरेका छन् । यो नेपाली कांग्रेससँग बार्गेनिङबाहेक अरु केही फण्डा होइन, एमालेले अहिले कुनै पनि दलका नेतालाई प्रधानमन्त्री स्वीकार नगर्ने स्पष्ट पार्न चाहन्छु ।’

नेकपाको दुईतिहाइको सरकार गिराएर विपक्षीको शरणमा जानेहरुलाई प्रधानमन्त्री स्वीकार गर्ने र उनीहरुसँग गठबन्धन हुने विषय एमालेले सोच्न पनि नसकिने उनको जिकिर थियो । ‘नेकपाको सरकार ढालेर कांग्रेस नेतृत्वमा सरकार बनाउने कम्युनिष्ट पार्टीको सदस्य हुनै सक्दैनन्’, नेता पौडेलले भने, ‘त्यसैले अहिलेको अवस्थामा कुनै पनि गठबन्धन हुने संकेत छैन । त्यस्तो भ्रमको पछाडि नलाग्न आग्रह गर्दछु ।

स्थानीय तह निर्वाचनमा एकातर्फ महागठबन्धन र अर्कोतर्फ एमाले एक्लै लड्दा पनि मतको हिसाबले एमाले पहिलो दल बनेको उनको दाबी थियो । पौडेलले आगामी निर्वाचनमा एमाले मत र सिटको हिसाबले पनि पहिलो दल बन्ने ठोकुवा गरे ।

एमाले हार्दा देश र जनता दुबैले हार्ने भएकाले अब हार्ने छुटसमेत नभएको उनको भनाइ छ । उनले विदेशमा भन्दा नेपालमा लगानीको सम्भावना छ भन्ने सन्देश दिन रिटर्नीहरुले हरेक जिल्लामा सामूहिक रुपमा नमुना आयोजना सञ्चालन गर्नुपर्ने सुझाव दिए ।

पौडेलले विदेशबाट फर्किएका नेपाली युवाहरुलाई स्वदेशमै लगानी गरी आत्मनिर्भर र आत्मसम्मानको जीवन बिताउने योजना बनाउन आग्रह गर्दै त्यसको लागि आफ्नो पार्टीले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

रिटर्नी फेडेरेसन नेपालका महासचिव लक्ष्मीप्रसाद आचार्यले परिवार र समाजको रहनसहनबाट टाढा रहेर २०÷२५ वर्षसम्म विदेशी भूमिमा रोजगारी गरेर फर्किँदा घुलमिल हुनसक्ने अवस्था नभएको बताए ।

आचार्यले नेपालका ५६ हजार घरधुरीको चुल्हो वैदेशिक रोजगारीबाट बल्ने र ५० लाख नेपाली कुनै न कुनै देशमा रोजगारीमा रहेको अवस्थामा सरकारले रिटर्नीहरुलाई स्वदेशमै फर्काउने गरी विशेष योजना बनाउनुपर्ने सुझाव दिए ।

प्रदेश भेलामा लुम्बिनीका १२ जिल्लाका रिटर्नीहरुको सहभागिता रहेको लुम्बिनी प्रदेशका संयोजक हीरा खरेलले जानकारी दिए ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस