रवि लामिछानेको लाग्यो टुंगो, काँग्रेसले फकाएरै छोड्यो ! - सिधा मिडिया






रवि लामिछानेको लाग्यो टुंगो, काँग्रेसले फकाएरै छोड्यो !

    ६ असार २०७९, सोमबार १८:१७  मा प्रकाशित
456 जनाले पढ़िसके









सक्रिय पत्रकारिता छाडेर राजनीतिमा होमिएका रवि लामिछाने नेपाली कांग्रेसबाट चुनाव लड्ने सम्भावना बढेको छ। कांग्रेसले आकर्षक प्रस्ताव गरेपछि रविले कांग्रेस रोज्ने सम्भावना बढेको हो। उनले मंगलबार राष्ट्रिय सभागृहबाट आफ्नो एजेण्डा र योजनाबारे औपचारिक घोषणा गर्दैछन् ।

नेपाली कांग्रेसका केही नेताहरुले रविसँग विभिन्न चरणमा छलफल गरेका छन् । रविले वचन नदिए पनि कांग्रेसले उनलाई ‘सांसद हुँदै मन्त्री बनाउनेसम्म’ को प्रस्ताव गरेको छ।

कांग्रेसले रविलाई काठमाडौं क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने प्रस्ताव गरिएको छ । त्यस्तै निर्वाचनपछि बन्ने सरकारमै उपयुक्त भूमिका दिनेबारे पनि छलफल भएको छ । निर्वाचन जिते मन्त्री नै बनाउनेसम्मको प्रतिबद्धता जनाउन कांग्रेसका केही शीर्ष नेता सकारात्मक देखिएको सोतको दाबी छ।

काठमाडौं २ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको क्षेत्र हो । यसपटक नेपाल रौतहटबाट निर्वाचन लड्ने सम्भावना छ । विगतमा सो क्षेत्रमा कांग्रेसबाट दीपक कुइँकेल र प्रतिमा गौतमले प्रतिस्पर्धा गरेका थिए ।

रविको मतदाता नामावली भने काठमाडौं ३ मा रहेको छ । यही कारण उनी सोही क्षेत्रबाट निर्वाचन लड्न इच्छुक छन् ।कांग्रेसले भने पाँचदलीय गठबन्धनमै सहमति गराएर माधव नेपाललाई रौतहट छाड्ने गरी नेपालको क्षेत्रमा रविलाई उम्मेदवार बनाउँदा उपयुक्त हुने आँकलन गरेको छ । https://mediadabali.com/news/132646 बाट जस्ताकाे तस्तै साभार ।।

जनयुद्धको अर्को चमत्कार, जनमुक्ती सेना बने ‘शान्तिका नायक’, बिश्वभर माओवादीको हाई हाई !

राज्य पुनःसंरचनाका लागि भएको सशस्त्र द्वन्द्वमा होमिएका धेरै जनामध्येका उनीहरू पनि थिए । २०५२ सालदेखि १० वर्षसम्म चलेको द्वन्द्वमा दुई जोडी राजाराम पण्डित–कविता रिजाल तथा रमेश पराजुली–मेनुका सिलवाल पनि परिआए ‘मार्ने र मर्ने’ संकल्पसहित राज्यविरुद्ध लडेका थिए ।

उनीहरूलाई त्यस बेला नेपाल सरकारले मात्र होइन, अमेरिकालगायतले ‘आतंककारी’ को सूचीमा राखेका थिए । त्यस्तो ट्याग लागेमध्येका यिनै दुई जोडीले शान्ति पदक पाएका छन् ।

शान्ति प्रक्रियामा आएको डेढ दशकपछि नेपाली सेनामार्फत दक्षिण सुडानमा खटिएका उनीहरूलाई ‘विश्वशान्ति स्थापना’ मा महत्त्वपूर्ण जिम्मेवारी बहन गरेको भन्दै संयुक्त राष्ट्रसंघ (यूएन) ले पदक प्रदान गरेको हो ।

राष्ट्रसंघको आह्वानमा दक्षिण सुडानस्थित शान्ति स्थापनार्थ मिसनमा तैनाथ कालीध्वज गण १० औं डफ्फाका यी दुई जोडीलाई असार ३ गते नेपालका अन्य सैनिकसँगै पदक दिएर सम्मान गरिएको नेपाली सेनाले जनाएको छ । राजाराम पण्डित सहसेनानी र कविता रिजाल अमल्दार हुन् । रमेश पराजुली गुल्म कार्य हुद्दा र मेनुका सिलवाल हुद्दा हुन् ।

अवकाश प्राप्त उपरथी विनोज बस्न्यात यो घटनालाई शान्ति प्रक्रियाको एउटा महत्त्वपूर्ण भागको रूपमा लिन सकिने मान्छन् । ‘पहिला उनीहरू माओवादीमा लागे पनि नेपाली सेनामा छिरेपछि विगतलाई बिर्सिए ।

सेनामा छिरेपछि त्यहाँको मूल्य–मान्यता र अन्तर्राष्ट्रिय छवि छ । त्यसैलाई उनीहरूले आत्मसात गरेका छन्,’ उनले भने, ‘यी पूर्वलडाकुहरू सैद्धान्तिक रूपमा भन्दा पनि तत्कालीन अवस्थामा परिवार र अन्य अवस्थाले माओवादीमा लागेको देखिन्छ । सेनामा छिरेपछि उनीहरू त्यहीअनुसार चल्न थाले ।’

सिद्धान्तअनुसार लागेका माओवादीहरू भने सेना समायोजनमा नबसेको पनि उनले बताए । नेपाली सेनाको अन्तर्राष्ट्रिय छविका कारण उनीहरूले यस्तो मौका पाएको बस्न्यातको भनाइ छ ।

सरकार–माओवादी दुवै पक्षले माओवादीका पूर्वलडाकुहरूलाई नेपाली सेनामा समायोजन गर्ने र स्वैच्छिक अवकाश लिने प्रस्ताव ल्याएका थिए । २०६३ मंसिरमा सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौता भयो ।

नेपालका लागि संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन) को नेपाल आगमन र बिदाइ तथा त्यसपछि लामो रस्साकसीपछि २०६९ सालमा आएर मात्र सेना समायोजनको काम पूरा भएको थियो ।

२०६९ भदौ २१ गते सुरु भएको समायोजन छनोट प्रक्रियामा अधिकृतका लागि ७५ सहित पदिक, अन्य दर्जाका लागि जम्मा १४ सय ६० जना पूर्व माओवादी लडाकुले सेनामा समायोजन रोजेका थिए ।

सेनामा समायोजन भएका अधिकांशले यूएनको विश्व शान्ति मिसनमा गरेर काम गरिसकेको सैनिक स्रोतको भनाइ छ । तत्कालीन माओवादी लडाकु सेनामा समायोजनमा भएपछि यमबहादुर अधिकारी अहिले सहायक रथी भइसकेका छन् । उनी माओवादी लडाकुबाट सेनामा समायोजन भएर सबैभन्दा माथिल्लो पदमा पुग्ने व्यक्ति हुन् ।

दक्षिण सुडानमा पदक सम्मान पाउनेमा माओवादी लडाकुबाट सेनामा समायोजन भएर शान्ति स्थापना गर्न गएका दुई जोडीसँगै अर्को एक जोडी सह–सेनानी प्रमोद राउल (श्रीमान्) र सह–सेनानी ऋतु पाण्डे (श्रीमती) पनि रहेका छन् ।

यसपटक पदक पाउनेमा अर्को संयोग थियो, सेक्टर इस्टका कमान्डर तथा सिनियर नेसनल अधिकृत सहायक रथी दीपककुमार बानियाँ (बाबु) र मेडिकल अधिकृतमा कार्यरत प्राविधिक उपसेनानी डा. दिव्यप्रताप बानियाँ (छोरा) । उनीहरू दुवैले पदक पाएका हुन् ।

हुद्दाहरू रामकुमार खड्का र लक्ष्मण खड्का (जुम्ल्याहा दाजुभाइ) ले पनि एकैपटक पदक पाए । ‘यसपालि एक हिसाबले पदक पाउनेमा संयोग नै पर्‍यो,’ सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले भने ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस