कसिलो मौद्रिक नीति सार्वजनिक गर्ने तयारी

    ६ श्रावण २०७९, शुक्रबार १०:२८  मा प्रकाशित
178 जनाले पढ़िसके









काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति कसिलो तरिकाले सार्वजनिक गर्न लागेको छ। गभर्नर महाप्रसाद अधिकारीले बिहीबार प्रधानमन्त्री तथा अर्थमन्त्री शेरबहादुर देउवासँगको छलफलपछि केन्द्रीय बैंकको बोर्ड बैठक बसेको थियो।

वैठकले पारित गरेसँगै केन्द्रीय बैंकले चालु आवमा कसिलो मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा जुटेको बताएको छ। बोर्डले पारित गरेलगत्तै शुक्रबारसम्म सार्वजनिक गरिने केन्द्रीय बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले जानकारी दिए।

गभर्नर अधिकारीले प्रधानमन्त्री देउवासँग यसअघि समय माग्दा खासै चासो नदिएको तर बिहीबार बल्ल समय दिएको राष्ट्र बैंकले बताएको छ। चालु आर्थिक वर्षको मौद्रिक नीति समग्र मुलुकको अर्थतन्त्रलाई हेर्दा कसिलो ल्याउनुपर्छ भनेर औंल्याइदै आएको थियो। यद्यपि स्रोतका अनुसार अहिले लगानीयोग्य पूँजी साउन र भदौमा कसेरै राखिने भएको छ। ‘यसपछि विस्तारै पुस, माघतिर छोड्दै जाने भन्ने छ। अब मुलुकभित्र उत्पादन बढाउन केन्द्रित भएर नीति ल्याउने तयारी छ। किनभने समग्रमा वाह्य क्षेत्र चापमा छ। मुद्रास्फिती बढेको छ। यसैले राष्ट्र बैंकको बैंकदर माथि जान सक्छ,’ स्रोतले जानकारी दिए।

यस्तै, मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले स्थाइ तरलता सुविधा (एसएलएफ)लाई बढाउने भएको छ। अहिले एसएलएफ ७ प्रतिशत छ। अब यसलाई बढाउने केन्द्रीय बैंक स्रोतको भनाइ छ। केन्द्रीय बैंकमा बैंक तथा वित्तीय संस्थाहरूले आफूहरूसँग भएको ट्रेजरी धितो राखेर एसएलएफमार्फत कर्जा लिन्छन्। बैंकदर बढे अब कर्जाको ब्याजदर समेत कसिलो हुनेछ। यसैगरी, केन्द्रीय बैंकले अनिवार्य नगद मौज्दात (सिआरआर)को सीमा पनि बढाउने भएको छ। हाल बैंकहरूले सिआरआर ३ प्रतिशतसम्म राख्नुपर्ने प्रावधान छ। बैंकहरूले निक्षेपको केही प्रतिशत सिआरआरमा राख्नुपर्ने व्यवस्था छ। अव यो सीमा पनि बढाइने स्रोतको दाबी छ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस