छ महिनापछि बढ्दै बैंकको निक्षेप ब्याजदर, कुन को कति भयो ?

    ३१ भाद्र २०७९, शुक्रबार ०९:२७  मा प्रकाशित
118 जनाले पढ़िसके









बैंकहरूले करिब ६ महिनादेखि स्थिर राखेको निक्षेप ब्याजदर खुला छाड्ने निर्णय गरेका छन्।

नेपाल बैंकर्स संघको सञ्चालक समितिको बैठकले ब्याजदर वृद्धि गर्ने निर्णय गरेको हो।

‘अब बैंकहरूले आफ्नो आवश्यकता अनुसार आफैँले ब्याजदर बढाउने वा नबढाउने निर्णय गर्न सक्छन्,’ नेपाल बैंकर्स एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले भने।

अब बैंकहरूले निक्षेपको ब्याजदर १२.०३ प्रतिशतसम्म दिने भएका छन्। हाल बैंकहरूले मुद्दती निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिँदै आएका छन्।

राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरूले निक्षेपको ब्याजदर निर्धारण गर्दा अघिल्लो महिना दिएको अधिकतम ब्याजदरको १० प्रतिशत बिन्दुले बढाउन सक्ने व्यवस्था छ।

यही अनुसार ब्याजदर १२.०३ पुग्नेछ। हाल रेमिट खातामा भने १२.०३ प्रतिशतसम्म ब्याजदर दिँदै आएका छन्। रेमिट खातामा समेत ब्याजदर १३.०३ प्रतिशतसम्म पुग्ने देखिन्छ।

बैंकहरूले संस्थागत निक्षेपकर्तालाई भने मुद्दती निक्षेपको भन्दा दुई प्रतिशतले कम ब्याजदर दिनुपर्ने व्यवस्था छ।

निक्षेपको ब्याजदर बढेसँगै कर्जाको ब्याजदर समेत बढ्ने सम्भावना छ। बैंकहरूले तीन/तीन महिनाको औसत आधार दर अनुसार कर्जाको ब्याजदर निर्धारण गर्न पाउँछन्।

बैंक तथा वित्तीय संस्थामा तरलता अभाव कायमै रहेपछि राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्दैछ। आज बिहीबार राष्ट्र बैंकले यस्तो रिपो जारी गर्ने भएको छ। आगामी सात दिनमा यो रिपो परिपक्व हुनेछ।

राष्ट्र बैंकको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सिडी) ८८.०१ पुगेको छ। राष्ट्र बैंकले यस्तो अनुपात बढिमा ९० प्रतिशत हुनसक्ने व्यवस्था छ।

बैंकहरूबीच हुने अन्तर बैंक सापटीको ब्याजदर समेत हाल ८.५० प्रतिशत कायम छ। हाल बैंकहरुले राष्ट्र बैंकबाट तरलताको रूपमा पाएको एक खर्ब ६१ अर्ब ८७ करोड रुपैयाँ चलाइरहेका छन्।

चालु आवको दुई महिनामै राष्ट्र बैंकले १७ खर्ब २३ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा तरलता प्रवाह गरेको छ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस