‘प्रेमगीत ३’ रोक्न भुवन केसीको अनेक हथकण्डा, प्रदीपले अनमोल उछिन्ने डर (भिडियो सहित)

    ५ आश्विन २०७९, बुधबार १७:३०  मा प्रकाशित
228 जनाले पढ़िसके









काठमाडौं – चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आफ्नो छोरा अनमोल केसीको स्टारडम प्रदीप खड्काले छायाँमा पार्ने डरले ‘प्रेमगीत ३’ लाई रोक्न अनेक हथकण्डा अपनाइएको आशंका गरेका छन् ।

हुन पनि अहिले प्रदीप खड्काको छवि अन्तर्राष्ट्रिय स्तरमा पुगेको छ । ‘प्रेमगीत ३’ हिन्दीपछि चाइनिज र उर्दू भाषामा डब गरेर चीन र पाकिस्तानमा पनि रिलिज हुने भएको छ ।

यदि यसो भएमा प्रदीप खड्काले नेपालका सबै कलाकारलाई ओझेलमा पार्नेछन् । त्यही भएर भुवन केसी अहिले ‘प्रेमगीत ३’ रोक्न लागिपरेको धेरैको अनुमान छ ।

‘प्रेमगीत ३’ का कारण नेपाली चलचित्र क्षेत्र दुई चिरामा विभाजन भएको छ । एक से एक नाम चलेका कलाकार अहिले एक अर्को ध्रुवमा खडा भएका छन् । ‘प्रेमगीत ३’ अहिले नेपाली र हिन्दी भाषामा विश्वभर एकसाथ हजारभन्दा सिनेमा हलमा प्रदर्शन हुँदैछ ।

नेपालमा समेत हिन्दी भाषामा डब भएको ‘प्रेमगीत ३’ रिलिज हुने भएपछि यसलाई लिएर नाम चलेका निर्माता कलाकार सार्वजनिक बहसमा उत्रिएका छन् ।

चलचित्र विकास बोर्डले ‘प्रेमगीत ३’ हिन्दी भाषामा रिलिज भए विदेशी फिल्मसरह कर बुझाउनुपर्ने भन्दै सूचना जारी गरेपछि अहिले निर्माण पक्ष आक्रोशित भएको छ ।

चलचित्रका निर्माता एवं निर्देशक सन्तोष सेन, अभिनेता प्रदीप खड्काले सार्वजनिक रूपमै विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा मागेका छन् ।

नेपाली चलचित्रको विकास र प्रवद्र्धन गर्न स्थापना भएको विकास बोर्ड नेपाली चलचित्रको बजार खुम्च्याउन लागिपरेको आरोप उनीहरूले लगाएका छन् ।

निर्माता अशोक शर्माले त ‘प्रेमगीत ३’ हिन्दीमा रिलिज हुँदा नेपाली चलचित्रको बजार घट्ने भन्दै विदेशीसरह कर तिर्न भन्दै लामो स्टाटस लेखेका छन् ।

उनलाई सपोर्ट गर्दै सरोज खनाल, दीपकराज गिरीले समेत विदेशी फिल्मसरह कर तिर्नुपर्ने, ‘प्रेमगीत ३’ लाई कर छुट दिन नहुने भन्दै लबिङ गरेपछि निर्माता सन्तोष सेन आक्रोशित भएका छन् ।

तर, चलचित्र निर्माता संघका पूर्वअध्यक्ष आकाश अधिकारी, अभिनेत्री करिश्मा मानन्धरलगायत धेरैजना ‘प्रेमगीत ३’ को पक्षमा उभिएका छन् ।

‘प्रेमगीत ३’ को विश्वव्यापी प्रचार र रिलिजले भोलि नेपाली चलचित्रको बजार प्रवद्र्धन गरेको भन्दै विकास बोर्डले निश्चित कर छुट दिएर चलचित्र चलाउन दिनुपर्ने उनीहरूको माग छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस